`

मदनबारे विद्या : जबजको नयाँ प्रयोग आवश्यक

Nepal One HD ९ जेठ २०८३ १८:२४
नेकपा एमाले

काठमाडौं ।  पूर्वराष्ट्रपति विधादेवी भण्डारीले जननेता मदन भण्डारीको विचार, राजनीतिक योगदान र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई नेपाली राजनीतिक इतिहासको अमूल्य सम्पत्तिका रूपमा वर्णन गरेकी छन् ।

‘मिडियामा मदन भण्डारी’ पुस्तक माथि केन्द्रित युवा विमर्श कार्यक्रममा बोल्दै उनले मदन भण्डारीका विचारहरू आजको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । उनका अनुसार उक्त पुस्तक केवल एउटा साहित्यिक कृति नभई नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रालाई समेट्ने ऐतिहासिक दस्तावेज हो ।

भण्डारीले विशेषगरी २०४६ सालपछि नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको सङ्क्रमणकालीन अवस्थामा मदन भण्डारीले प्रस्तुत गरेका विचार, पत्रकारहरूसँग गरेका संवाद तथा लोकतन्त्रप्रतिको दृष्टिकोण अहिले पनि मार्गदर्शक रहेको उल्लेख गरिन् । ‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन्’, उनले भनिन्। 

भण्डारीले लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय, सार्वजनिक उत्तरदायित्व, जवाफदेहिता र राष्ट्रिय एकताका विषयहरू पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको भन्दै यस्ता चुनौती समाधान गर्न मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन आवश्यक रहेको बताइन् ।

गरेका संवादहरू आज पनि अत्यन्तै सान्दर्भिक रहेको बताइन् । 

‘लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय बनेको छ। जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग आवश्यक छ’, उनले भनिन्। 

उनले वर्तमान विश्व र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै युवा पुस्ताले विगतका वैचारिक धाराहरूको अध्ययन गरेर भविष्यको दिशा पहिचान गर्नुपर्ने धारणा राखिन् । उनका अनुसार मदन भण्डारीले आफ्नो समयका चुनौतीहरूलाई कसरी आत्मसात् गरे, तिनको विश्लेषण र व्याख्या कसरी गरे तथा समाधानका उपायहरू जनतासमक्ष कसरी प्रस्तुत गरे भन्ने कुरा आजको पुस्ताका लागि पनि प्रेरणादायी छ ।

भण्डारीले मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने चिन्तक, सिद्धान्तकार तथा दूरदर्शी नेतृत्वकर्ताका रूपमा स्मरण गरिन् । उनले राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्नुका साथै जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने अद्वितीय क्षमता मदन भण्डारीमा रहेको बताइन् । साथै, उनी सञ्चारमाध्यमको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञ रहेको पनि उनले उल्लेख गरिन् ।

उनका अनुसार लामो समय भूमिगत राजनीतिमा सक्रिय रहे पनि मदन भण्डारीको खुला राजनीतिक जीवन छोटो थियो, तर त्यस अवधिमा उनले छोडेको वैचारिक प्रभाव र राजनीतिक योगदान अत्यन्त दीर्घकालीन र प्रभावकारी रह्यो । उनले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा जनमुखी राजनीतिक सोच आज पनि नेपाली राजनीतिमा महत्वपूर्ण मार्गनिर्देशकका रूपमा रहेको भण्डारीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न पनि सुझाव दिइन् । कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक रूपमा आत्मसात् गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख जिम्मेवारी भएको उनले बताइन् । प्रविधिको विकाससँगै विचार, सूचना र जनमत निर्माणको स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उनले युवाहरूलाई अध्ययन, बहस र वैचारिक विकासमा सक्रिय हुन आग्रह गरिन् ।

भण्डारीले मदन भण्डारीका विचारहरूलाई समयअनुकूल रूपमा थप विकास गर्दै व्यवहारमा लागू गर्नु अहिलेको आवश्यकता भएको बताइन् । उनले लोकतन्त्र, सामाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका विषयमा गहिरो बहस आवश्यक रहेको उल्लेख गर्दै युवाहरूले जननेता मदन भण्डारीले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार मदन भण्डारीले निर्माण गरेको वैचारिक विरासत केवल इतिहासको विषय होइन, वर्तमान र भविष्यको राजनीतिक मार्गदर्शन पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *