क्यान अध्यक्ष चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते चन्दविरुद्ध उजुरी दर्ता भएको थियो । सोही उजुरीलाई आधार मानेर आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको बताइएको छ ।
त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई १० दिनभित्र जवाफ दिन निर्देशनसहित पत्र पठाएको हो । राखेपले भने सोही विषयमा क्यानसँग औपचारिक रूपमा जवाफ माग गरेको जनाएको छ ।
उजुरीमा अध्यक्ष चन्दले अमेरिकामा भएको विश्वकपका क्रममा जर्सी तथा टिकट खरिद प्रक्रियामा अनियमितता गरेको आरोप उल्लेख गरिएको छ । साथै, उनी डाक्टर कोटामा अमेरिका गएको र आफ्नो श्रीमतीलाई पनि क्यानकै खर्चमा भ्रमणमा लगिएको दाबी गरिएको छ ।
त्यस्तै क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का पनि श्रीमतीसहित संघकै खर्चमा अमेरिका गएको आरोपसमेत उजुरीमा उल्लेख छ ।
पत्रमा सार्वजनिक कोषको अपचलन, विश्वकप भ्रमणमा आर्थिक अनियमितता, कर्मचारी भर्ना प्रक्रियामा दुरुपयोग, अपाङ्गता भत्ता सम्बन्धी खर्चमा अनियमितता तथा वार्षिक साधारण सभा र जर्सी-टिकट खरिद प्रक्रियामा अनियमितता भएको विषयमा स्पष्टिकरण माग गरिएको छ ।
अहिले उक्त विषयमा सम्बन्धित निकायहरूबाट छानबिन तथा जवाफ प्रक्रिया अघि बढिरहेको बताइएको छ ।
