`

पक्राउ पुर्जी रोक्न देउवाको रिटमा सुनुवाइ सुरु

Nepal One HD ११ जेठ २०८३ १२:४५
नेपाली कांग्रेस

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ सुरु भएको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि सोमबारका लागि मुद्दा तोकेको थियो।

विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि त्यसको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै देउवा पक्ष सर्वोच्च पुगेको हो। रिटमा जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी गरिएको छ।

देउवा पक्षले अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पक्राउको आवश्यकता नरहेको तर्क पनि रिटमा गरेको छ।

अब सर्वोच्च अदालतले दुवै पक्षको बहस सुनेपछि पक्राउ पुर्जी कार्यान्वयन रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशबारे निर्णय गर्नेछ।

यसैबीच, निर्वाचनअघि हङकङ गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *