‘भास्कुलाइटिस’ के हो ?
काठमाडौं। शरीरमा नसासम्बन्धी समस्या देखिएर जीउ दुख्ने, हातखुट्टा झमझम हुने हुन्छ,त्यसलाई सामान्य रूपमा ‘नसा बाथ’ भनेर बुझ्ने गरिन्छ। तर यस्ता लक्षण सबै अवस्थामा एउटै रोगसँग सम्बन्धित हुँदैनन्। खुट्टामा देखिने फुलेका निला नसाहरू प्रायः ‘वेरिकोज भेन्स’ हुन्, जुन रगतलाई मुटुतर्फ फर्काउने नसाहरू कमजोर हुँदा देखिने सामान्य समस्या हो। यसभन्दा फरक, भास्कुलाइटिस भने रक्तनलीमा हुने सुजनसँग सम्बन्धित गम्भीर रोग हो। जसलाई नेपालीमा रक्तनलीको सुजन समेत भनिन्छ।
भास्कुलाइटिस एक प्रकारको अटोइम्युन रोग हो। जसमा शरीरको प्रतिरक्षा प्रणालीले गल्तीवश आफ्नै रक्तनलीमाथि आक्रमण गर्न थाल्छ। सामान्य अवस्थामा यो प्रणालीले शरीरलाई कीटाणु र रोगबाट जोगाउने काम गर्छ। तर सन्तुलन बिग्रिएपछि शरीरकै स्वस्थ भागलाई ‘शत्रु’ ठानेर आक्रमण हुन सक्छ। यही प्रक्रियाले रक्तनली सुन्निने समस्या पैदा गर्छ। जसले शरीरका विभिन्न अङ्गमा असर पुर्याउन सक्छ।
रक्तनली सुन्निँदा तीन प्रमुख खतरनाक अवस्था सिर्जना हुन सक्छ। पहिलो, रक्तनली साँघुरो हुन्छ र सम्बन्धित भागमा रगत कम पुग्छ। जसले अङ्ग कमजोर बनाउँछ। दोस्रो, रक्तनली पूरै बन्द हुन सक्छ। जसले अक्सिजन आपूर्ति रोकिन्छ र अङ्ग क्षति हुन थाल्छ। तेस्रो, रक्तनली कमजोर भएर फुट्न सक्छ। जसले शरीरभित्रै रक्तस्राव गराउन सक्छ। यी तीनै अवस्था गम्भीर भएकाले भास्कुलाइटिसलाई समयमै पहिचान गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ।
यस रोगको कारण धेरैजसो अवस्थामा स्पष्ट रूपमा पत्ता लाग्दैन। शरीरको प्रतिरक्षा प्रणाली किन असन्तुलित हुन्छ भन्ने कुरा अझै पूर्ण रूपमा बुझिएको छैन। यद्यपि केही संक्रमणहरू (जस्तै हेपाटाइटिस बी वा सी), केही औषधिहरूको प्रतिक्रिया, र दुर्लभ अवस्थामा क्यान्सरसँगको सम्बन्धले यो रोगलाई उत्प्रेरित गर्न सक्छ। कहिलेकाहीँ संक्रमण वा खोपपछि पनि यो देखिएको रिपोर्ट भए पनि यस्ता घटना अत्यन्तै दुर्लभ हुन्छन्। र खोपको फाइदा यसको जोखिमभन्दा धेरै बढी हुन्छ।
भास्कुलाइटिसका लक्षणहरू रक्तनलीको आकार र प्रभावित भागअनुसार फरक हुन्छन्। साना रक्तनलीमा हुने सुजनमा छालामा रातो दाग वा थोप्ला देखिन सक्छ। जुन दबाउँदा हराउँदैन। फोक्सो प्रभावित भएमा लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा खकारमा रगत देखिन सक्छ। मिर्गौला प्रभावित हुँदा पिसाबमा रगत वा फिँज देखिन सक्छ, जुन समयमै उपचार नभए गम्भीर बन्न सक्छ। बालबालिकामा देखिने एक प्रकार प्रायः आफैं निको हुने भए पनि वयस्कमा देखिएमा बढी गम्भीर हुन सक्छ।
मध्यम आकारका रक्तनली प्रभावित हुँदा लामो समयसम्म ज्वरो आउने, शरीर कमजोर हुने, तौल घट्ने, छालामा गिर्खा वा घाउ बन्ने जस्ता लक्षण देखिन्छन्। केही अवस्थामा औँलामा रगत नपुगेर कालो हुने र अङ्ग सुक्ने अवस्थासमेत आउन सक्छ, जसलाई ग्याङ्ग्रिन भनिन्छ।
ठूला रक्तनलीमा हुने भास्कुलाइटिस प्रायः ५० वर्षभन्दा माथिका व्यक्तिमा देखिन्छ। यस अवस्थामा कन्चटतिर टाउको दुख्ने, कपाल कोर्दा वा छाला छुँदा दुख्ने, बङ्गारा चपाउँदा दुख्ने जस्ता लक्षण देखिन्छन्। सबैभन्दा गम्भीर अवस्था भने अचानक आँखा धमिलो हुने वा दृष्टि गुम्ने हो, जुन आपत्कालीन अवस्था हो र तुरुन्त उपचार नभए स्थायी अन्धोपन हुन सक्छ।
भास्कुलाइटिस पत्ता लगाउन डाक्टरले विभिन्न परीक्षणहरूको सहारा लिन्छन्। रगत परीक्षणमार्फत शरीरमा सुजन छ कि छैन भन्ने बुझिन्छ। मिर्गौला र कलेजोको परीक्षणले कुन अङ्ग प्रभावित भएको छ भन्ने देखाउँछ। केही अवस्थामा बायोप्सी गरेर प्रभावित भागको सानो टुक्रा परीक्षण गरिन्छ। त्यसैगरी एन्जियोग्राम जस्ता इमेजिङ परीक्षणले रक्तनली साँघुरिएको वा बन्द भएको अवस्था पत्ता लगाउन मद्दत गर्छ।
यो रोगको उपचार समयमै सुरु भए नियन्त्रण गर्न सकिन्छ, यद्यपि पूर्ण रूपमा निको नहुन पनि सक्छ। स्टेरोइड औषधिले सुजन घटाउन मद्दत गर्छ भने इम्युनोसप्रेसिभ औषधिले प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्छ। केही विशेष अवस्थामा बायोलोजिक औषधिको प्रयोग पनि गरिन्छ। तर बिरामीले आफैं औषधि परिवर्तन गर्नु वा अचानक रोक्नु निकै खतरनाक हुन सक्छ।
नेपालमा सामान्य रूपमा जीउ दुख्ने बित्तिकै डाक्टरको सल्लाहबिना पेनकिलर खाने चलन छ। तर भास्कुलाइटिस जस्तो रोगमा यो अभ्यास जोखिमपूर्ण हुन्छ। पेनकिलरले केवल अस्थायी रूपमा दुखाइ कम गर्छ। तर रोगलाई नियन्त्रण गर्दैन। उल्टो भित्रभित्रै समस्या बढाउन सक्छ र मिर्गौला वा पेटमा असर गर्न सक्छ। त्यसैले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुँदैन।
यस रोगमा औषधिसँगै फिजियोथेरापी पनि उपयोगी हुन्छ। जसले मांसपेशी बलियो बनाउन र जोर्नीको चलायमानता कायम राख्न मद्दत गर्छ। साथै बिरामीको मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पर्ने भएकाले परिवारको साथ, हौसला र सकारात्मक वातावरण अत्यन्त महत्वपूर्ण हुन्छ।
नेपालमा भास्कुलाइटिसको उपचार मुख्यतः काठमाडौंका ठूला अस्पतालहरूमा उपलब्ध छ। जहाँ रुमाटोलोजिस्ट अर्थात् बाथ तथा रक्तनली रोग विशेषज्ञले उपचार गर्छन्। समयमै विशेषज्ञकहाँ पुग्न सकिए धेरै जटिलता रोक्न सकिन्छ।
भास्कुलाइटिस डर लाग्दो रोग भए पनि समयमै पहिचान र सही उपचार भए यसलाई नियन्त्रणमा राख्न सकिन्छ। लक्षण देखिएपछि झारफुक वा घरेलु उपचारमा अल्झिनु भन्दा तुरुन्त चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र बुद्धिमानी हुन्छ।
