‘मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ’
काठमाडौं। संसद् बैठक बहिष्कार गरेर बाहिरिएपछि सांसद हर्क साम्पाङले प्रधानमन्त्री उपस्थित नभएसम्म आफूले बैठक निरन्तर बहिष्कार गर्ने बताएका छन्।
संसद् भवन बाहिर पत्रकारसँग कुरा गर्दै साम्पाङले संसद् नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीसँग केही प्रश्न राख्न खोजेको भए पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएको गुनासो गरे।
उनले आजको बैठकमा सभामुखसँग प्रधानमन्त्रीलाई बैठकमा बोलाउन वा आफूलाई सदनबाट बाहिर निकाल्न आग्रह गरेको बताए। तर सभामुखबाट त्यसबारे कुनै स्पष्ट निर्णय नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।
साम्पाङले भने, ‘सभामुखले रुलिङ पनि गर्नुहुन्न, निस्केर जा भन्नुहुन्छ कि भनेको त्यो पनि भन्नुहुन्न । म आफैँ निस्किएँ ।’
प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै उनले प्रधानमन्त्रीले संसद्मा आएर जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो । यो मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ । यति क्षमता योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि ।’
साम्पाङले संसद् जनताको आवाज उठाउने थलो भएकाले प्रधानमन्त्रीले नियमित रूपमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्नुपर्ने धारणा पनि राखे।
