`

बढ्दो जलवायु परिवर्तनलाई ध्यानमा राखौँ : अर्याल

Nepal One HD १३ जेठ २०८३ १२:१५
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले जलवायु परिवर्तनका जोखिमपूर्ण संकेतहरू स्पष्ट रूपमा देखिन थालेको भन्दै त्यसको समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय तहदेखि समुदायसम्म सामूहिक सहभागितामा आधारित विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

सांसद अर्यालले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा परेको बताइन्। उनले मौसम चक्रमा आएको असन्तुलन, वर्षाको ढाँचा परिवर्तन, गर्मीका दिन झन् ताता हुँदै जानु तथा हिउँदका रात अत्यधिक चिसिँदै जानु जलवायु संकटका संकेत भएको उल्लेख गरिन्।

उनले पछिल्ला वर्षहरूमा मेलम्ची, मनाङ मुस्ताङ र लाङटाङको केरुङ क्षेत्रमा देखिएका अप्रत्याशित बाढी पहिरो तथा थामे गाउँमा हिउँताल फुटेर भएको विनाशलाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गरिन्।

अर्यालले समयमै प्रभावकारी कदम नचालिए भविष्यमा धेरै नागरिक बसाइँ सर्न बाध्य हुने अध्ययनहरूले देखाएको बताइन्। साथै, उनले जलवायु संकट समाधानका लागि सबै राजनीतिक दल र सरोकारवालाको सहभागितामा साझा संयन्त्र गठन गर्न सरकारसँग आग्रह गरिन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *