`

तीन दिन गणतन्त्र दिवस मनाउने कोशी प्रदेशको तयारी

Nepal One HD १३ जेठ २०८३ १३:०१
राजनीति

मोरङ ।  कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो।

निर्णयअनुसार जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा तथा अन्य कार्यालयमा कार्यालय प्रमुखको नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सोही दिन साँझ दीप प्रज्वलन पनि गरिनेछ।

जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रभातफेरि निकालिनेछ भने मूल समारोह समितिको आयोजनामा हुने मुख्य कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैदिन साँझ दीपावली गर्ने तयारी गरिएको छ।

जेठ १६ गते प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिनेछ। सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रममा आश्रितलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ। त्यस दिन साँझ पुनः दीप प्रज्वलन गरिनेछ।

समारोह समितिले जेठ १५ गते विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसहित सहभागिताका लागि सबैलाई आग्रह गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय समितिले सम्पूर्ण कार्यक्रम समन्वय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *