`

राति १२ बजेसम्म बेहुली पर्खेर रित्तै फर्किए ४२ बेहुलाहरु, ‘लमी’ फरार

Nepal One HD १३ जेठ २०८३ १४:१०
प्रमुख खबर

काठमाडौं। भारतको मध्य प्रदेशस्थित देवास जिल्लामा सामूहिक विवाहको नाममा दर्जनौँ युवासँग लाखौँ रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ।

विवाह गराइदिने प्रलोभन देखाउँदै ४२ जना युवालाई लक्षित गरी एक संगठित गिरोहले रकम असुली गरेको खुलासा भएको हो।

प्राप्त विवरणअनुसार इन्दौरस्थित अनाथालयका युवतीसँग विवाह गराइदिने तथा मुख्यमन्त्रीको उपस्थितिमा ५१ हजार रुपैयाँको चेकसमेत उपलब्ध गराइने आश्वासन दिँदै उक्त गिरोहले युवाहरू र उनीहरूका परिवारबाट रकम संकलन गरेको थियो।

आइतबार बिहान देवासको माता टेकरी मन्दिरमा विवाह समारोह हुने भन्दै पीडित युवाहरूलाई बोलाइएको थियो। हल्दी, मेहन्दी लगायतका विवाहपूर्वका कार्यक्रमका लागि बेहुला बनेर पुगेका ४२ जना युवाहरू दिनभर दुलही आउने प्रतीक्षामा बसेका थिए।

केही बेहुलाहरू ६० वर्ष उमेरसम्मका रहेको र अधिकांशले विवाहको आश्वासनका आधारमा ठूलो रकम तिरेर परिवारसहित जन्ती लिएर पुगेको जनाइएको छ।

गिरोहले २४ घण्टाभित्र विवाह सम्पन्न हुने र दाइजोस्वरूप सामग्रीसमेत उपलब्ध गराइने आश्वासन दिएको थियो। तर रात पर्दासम्म न त दुलहीहरू पुगे, न त विवाहसम्बन्धी कुनै प्रक्रिया अघि बढ्यो।

प्रहरीका अनुसार उक्त गिरोहले विवाहका इच्छुक युवाहरूलाई सम्पर्क गरी दर्ता शुल्कका नाममा रकम असुल्ने गरेको थियो। युवतीहरूको तस्बिर सामाजिक सञ्जालबाट लिएर पठाउँदै विश्वास दिलाइएको थियो।

पीडितहरूलाई अनाथालयका युवती भएकाले पहिले भेट्न नमिल्ने भन्दै टार्ने गरिएको पनि खुलासा भएको छ। यसैबीच, आयोजकहरूले उनीहरूको विश्वास जित्न राजनीतिक व्यक्तित्वको नामसमेत प्रयोग गरेको आरोप छ।

देवासका हरनियाकलन गाउँका विकास मीना र ओमप्रकाश प्रजापतिसहित धेरै जना यस ठगीको शिकार भएको भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीले जनाएको छ। उनीहरूले आर्थिक क्षतिसँगै सामाजिक प्रतिष्ठामा समेत ठूलो धक्का पुगेको बताएका छन्।

राति १२ बजेसम्मको पर्खाइपछि हंगामा

कार्यक्रम व्यवस्थापनमा संलग्न मुकेश बैरागी र उनकी श्रीमती सुनिताले दिनभर विभिन्न बहाना बनाउँदै पीडितलाई ढाँट्ने प्रयास गरेका थिए। तर रातको १२ बजेसम्म पनि दुलही नआएपछि आक्रोशित बेहुला र परिवारले कार्यक्रमस्थलमा हंगामा गरेका थिए।

विवाद चर्किएपछि मुकेश बैरागीले आफू पनि ठगिएको दाबी गर्दै योजनामा आफ्ना जेठा दाइ दिनेश बैरागीको मुख्य भूमिका रहेको बताएका छन्। उनका अनुसार युवतीका फोटो र बेहुलाका विवरण दाइमार्फत उपलब्ध गराइएको थियो।

देवासका अतिरिक्त प्रहरी अधीक्षक जयवीर सिंह भदौरियाका अनुसार घटनामा संलग्न मुकेश बैरागी, उनकी श्रीमती सुनिता बैरागी, दिनेश बैरागी तथा अन्य एक व्यक्तिविरुद्ध ठगीलगायत मुद्दा दर्ता गरिएको छ।

प्रहरीले मुख्य अभियुक्त मुकेशलाई पक्राउ गरिसकेको छ भने अन्य आरोपीहरूको खोजी जारी रहेको जनाएको छ।

पीडितहरूले आफ्नो सामाजिक जीवन प्रभावित भएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *