विश्वकप नजिकिँदै गर्दा मेसीलाई चोट लागेपछि…
एजेन्सी। विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप’ सुरु हुन अब करिब तीन साता मात्र बाँकी रहँदा साविक विजेता अर्जेन्टिना टोलीभित्र चिन्ता बढेको छ।
आगामी जुन ११ बाट अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकप नजिकिँदै गर्दा टोलीका मुख्य खेलाडी लियोनल मेसीको चोटले तयारी प्रभावित भएको छ।
मायामी क्लबका अनुसार लियोनल मेसी बायाँ खुट्टाको पछाडिको मांसपेशी (ह्यामस्ट्रिङ) चोटबाट प्रभावित भएका छन्। यो चोट आइतबार भएको खेलमा फ्रिकिक प्रहार गर्ने क्रममा लागेको हो।
खेलको दोस्रो हाफको करिब ७३ औँ मिनेटमा उनी मैदान छाड्न बाध्य भएका थिए। सो खेलमा उनको क्लबले ६-४ गोलले जित निकालेको थियो।
खेलपछि मेसीले मैदान छाड्दा तिघ्राको पछाडिको भाग समातेका दृश्य देखिएको थियो। त्यही कारण उनी गम्भीर रूपमा घाइते भएको आशंका गरिएको थियो।
तर क्लबले उनको चोटबारे आधिकारिक जानकारी दिँदै प्रारम्भिक परीक्षणमा मांसपेशीमा दबाब परेको र ह्यामस्ट्रिङ समस्या देखिएको जनाएको छ।
क्लबका अनुसार मेसीको अवस्था कति गम्भीर हो भन्ने विषयमा अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन। विस्तृत चिकित्सकीय परीक्षण र थप शारीरिक मूल्याङ्कनपछि मात्र उनी कहिले मैदान फर्किन सक्छन् भन्ने कुरा स्पष्ट हुने बताइएको छ।
खेलपछि क्लबका प्रशिक्षकले पनि मेसीको अवस्था तत्काल गम्भीर नदेखिए पनि पूर्ण परीक्षणपछि मात्र अन्तिम निष्कर्ष आउने बताएका छन्।
वर्षाका कारण मैदान चिप्लो र कठिन बनेको अवस्थाले पनि चोटको जोखिम बढाएको चर्चा खेलपछि गरिएको थियो।
अर्जेन्टिना अहिले विश्वकपमा उपाधि रक्षा गर्ने तयारीमा छ। तर टोलीले अझै अन्तिम खेलाडी सूची सार्वजनिक गर्न सकेको छैन। प्रारम्भिक रूपमा ५५ सदस्यीय सूची तयार गरिएको भए पनि अन्तिम २६ सदस्यीय टोली घोषणा हुन बाँकी छ।
नियमअनुसार सहभागी राष्ट्रहरूले जुन १ भित्र अन्तिम टोली सार्वजनिक गर्नुपर्ने हुन्छ। अर्जेन्टिना पनि अन्तिम सूची घोषणा गर्ने तयारीमा रहेको बताइएको छ।
मेसीको चोटका कारण टोली चयन र रणनीतिमा दबाब थपिएको छ।
अर्जेन्टिना समूह चरणमा समूह ‘जे’ मा परेको छ। उक्त समूहमा अर्जेन्टिनासँगै अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन्। साविक विजेताका रूपमा मैदान उत्रिने भएकाले टोलीमाथि उपाधि रक्षा गर्ने ठूलो अपेक्षा छ।
विश्लेषकहरूका अनुसार मेसीको फिटनेस अर्जेन्टिनाको प्रदर्शनसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
यदि उनी पूर्ण रूपमा फिट नभए विश्वकपको तयारी र रणनीतिमा ठूलो परिवर्तन आउन सक्ने देखिन्छ। अहिले सम्पूर्ण ध्यान उनको स्वास्थ्य सुधारतर्फ केन्द्रित भएको छ।
