इन्डोनेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनोटको सेमिफाइनलमा
काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद (एसियन गेम्स) महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल अन्तिम चारमा पुग्न सफल भएको हो।
समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। नेपालले दिएको १ सय १४ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको थियो। ओपनर सम्झना खड्का १ रनमा, पूजा महतो ९ रनमा र रुबी पोद्दार शून्य रनमै आउट भएपछि नेपाल २० रनमै ३ विकेट गुमाएर दबाबमा परेको थियो।
तर त्यसपछि कप्तान इन्दु बर्माले उत्कृष्ट संयमित ब्याटिङ गर्दै इनिङ्स सम्हालिन्। उनले ४३ बलमा ५ चौकासहित अविजित ४२ रन बनाएर टोलीलाई जिततर्फ डोर्याइन्।
कविता कुँवरले १४ रनको योगदान दिँदा सीता राना मगर १३ रनमा अविजित रहिन्। इन्डोनेसियाका नी मेडे र नी एरियानीले समान २-२ विकेट लिए पनि जित रोक्न सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। सुरुवातमै दबाबमा परेको इन्डोनेसियाले २ रनमै दुवै ओपनर गुमाएपछि संकटमा परेको थियो।
त्यसपछि नी लु डिवी र नी पुटु आयुले तेस्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई सम्हाले। तर मनिषा उपाध्यायले नी लुलाई २३ रनमा आउट गरेपछि साझेदारी तोडिएको थियो।
नी मेडे १३ रनमा आउट हुँदा नी पुटु आयुले भने उत्कृष्ट ब्याटिङ गर्दै ६२ बलमा ३ चौकासहित अविजित ५६ रन बनाइन्।
नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। रिया शर्माले १ विकेट हात पारिन्।
नेपालले यसअघि हिजो चीनलाई १९ रनले पराजित गरेको थियो। लगातार दुई जितसँगै ४ अंक जोड्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा थाइल्याण्ड र चीन आमनेसामने हुनेछन्।
यो प्रतियोगिताबाट सेमिफाइनल पुगेका चार टोलीमध्ये तीन टोलीले जापानमा हुने एसियन गेम्सका लागि स्थान सुरक्षित गर्नेछन्।
