`

अछाम जिप दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित तीन घाइते

Nepal One HD १६ जेठ २०८३ ९:११
समाचार

काठमाडौं । अछाममा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका-५ का ४५ वर्षीय रामप्रकाश थारु रहेका छन्।

दुर्घटनापछि उनीहरूलाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा शनिबार बिहान दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता, सिराहाको कल्याणपुर नगरपालिका-१० का २७ वर्षीय सन्तकुमार शाह र स्याङ्जाको फेदीखोला नगरपालिका-४ का अर्जुनकुमार पौडेल घाइते भएका छन्।

घाइतेमध्ये चालक गुप्ता र शाहको अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको प्रहरीले जनाएको छ। पौडेलको अवस्था भने मध्यम रहेको बताइएको छ।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *