‘प्रधानमन्त्री बालेनको अभिव्यक्तिले नेपाललाई कमजोर बनायो’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का नेपालतर्फका सदस्य तथा पूर्वकूटनीतिज्ञ निलाम्बर आचार्यले कडा आपत्ति जनाएका छन् ।
उनले उक्त अभिव्यक्तिलाई तथ्यगत आधारविहीन र कूटनीतिक दृष्टिले गम्भीर त्रुटिपूर्ण भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा विवादबारे बोल्ने क्रममा नेपालले पनि भारततर्फका केही क्षेत्रमा सीमा मिचिएको भनेपछि राजनीतिक तथा कूटनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ ।
आचार्यले यस्तो संवेदनशील विषयमा राज्यको उच्च तहबाट आउने अभिव्यक्ति अन्तर्राष्ट्रिय स्तरमा नेपालको दीर्घकालीन अडानलाई कमजोर पार्ने जोखिम रहने बताएका छन् ।
उनका अनुसार सीमा विवादमा नेपालले ऐतिहासिक नक्सा, दस्तावेज र कानूनी आधारमा स्पष्ट दाबी गर्दै आएको अवस्थामा ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रकारको सामान्यीकरणले कूटनीतिक तर्क नै कमजोर बनाउने अवस्था सिर्जना गर्छ ।
उनको भनाइमा नेपाल-भारत सीमा विवाद विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकजस्ता संवेदनशील क्षेत्रमा केन्द्रित छ, जहाँ नेपालले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो दाबी गर्दै आएको छ ।
यस्तो अवस्थामा दुई फरक प्रकृतिका विषय राज्यस्तरीय विवाद र स्थानीयस्तरका सीमावर्ती व्यवहारलाई एउटै रूपमा प्रस्तुत गर्नु गलत हुने उनको तर्क छ ।
आचार्यले कूटनीतिक अभ्यासमा राज्य प्रमुख वा प्रधानमन्त्रीको हरेक अभिव्यक्ति अर्को देशसँगको वार्तामा ‘स्थिति दस्तावेज’ का रूपमा प्रयोग हुन सक्ने भएकाले अत्यन्त सावधानी आवश्यक हुने बताएका छन् ।
उनका अनुसार संसदमा आएको उक्त भनाइले भविष्यमा भारतसँग हुने वार्तामा नेपालको अडान कमजोर भएको रूपमा व्याख्या हुने जोखिम रहन्छ ।
