`

रविलाई जोगाउने नियमले संसदमा भयो धक्काधक्की

Nepal One HD १७ जेठ २०८३ १९:५५
बिशेष

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षीहरूलाई पेलेरै प्रतिनिधि सभा नियमावली पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएपछि संसदमा लफडा भएको छ ।

विपक्षी सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरे । त्यस क्रममा उनीहरूलाई रोक्न मर्यादापालकहरूलाई हम्मेहम्मे परेको थियो । उनीहरूले भने, ‘यस्तो सभामुख चाहिँदैन ।’

विपक्षी सांसदहरूको अवरोधबीच सभामुख अर्यालले प्रस्तावमाथिको छलफल अघि बढाइरहे । झनै आक्रोशित बने विपक्षी सांसदहरू । त्यसपछि सभामुखले भने, ‘सभाको मर्यादामा रहन म निर्देशन जारी गर्छु ।’

तर, विपक्षी सांसदहरूको अवरोध जारी रह्यो । वेल घेराउ गर्न पहिलोपटक प्रमुख विपक्षी दल कांग्रेस र अन्य विपक्षी दलहरू एमाले र नेकपाका सांसदहरू पुगे ।

श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू पनि वेल घेराउ गर्न पुगेका थिए । विपक्षी सांसदहरूको लगातारको प्रदर्शनपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।

विपक्षीहरूले प्रतिनिधि सभा नियमावलीको नियम २५९, २६० र २६१ मा आपत्ति जनाएका छन् । यी नियमहरूमा नियमावलीलाई विशेष कानुनको मान्यता दिने, सभामुखको निर्णय अन्तिम हुने र फौजदारी कसुरमा आरोपीलाई निलम्बन नगर्ने भन्ने प्रावधान छ ।

यो सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गरेर ल्याएको नियमावली भएको भन्दै विपक्षी दलहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यी प्रावधान खारेजीको माग गरेका छन् ।

तर, रास्वपाबाट सभामुख भएका डीपी अर्यालले विपक्षी आवाजलाई दबाउँदै नियमावली पारित गराउने गरी पेलेरै अघि बढेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *