प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध सिंहदरबारमा नेविसंघको प्रदर्शन, ६ कार्यकर्ता पक्राउ
काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको मुख्य गेटअघि प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको उक्त भनाइलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा स्पष्टिकरण र अभिव्यक्ति फिर्ता लिन माग गरेका थिए।
प्रहरीले प्रदर्शनका क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डेलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री शाहको संसदमा व्यक्त उक्त भनाइलाई लिएर राजनीतिक दल, सांसद तथा विभिन्न संगठनहरूले लगातार विरोध जनाइरहेका छन्। सोही विषयलाई लिएर प्रतिनिधिसभा बैठकसमेत प्रभावित बन्दै आएको छ।
