यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग सम्बन्धित उक्त सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।
त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।
गृह मन्त्रालयकै अर्को प्रस्तावअनुसार २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको म्याद ४५ दिनका लागि थप गरिएको छ।
यसैगरी, भूमि व्यवस्थासम्बन्धी निर्णय अन्तर्गत सरकारले भूमि समस्या समाधान समितिमा रिक्त पदहरूमा नियुक्ति गरेको छ। समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्। सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठ नियुक्त भएका छन्।
