मोदी कार्ड किन प्रयोग गर्दैछन् ट्रम्प र पुटिन ?
काठमाडौं। विश्व राजनीतिमा प्रभावशाली शक्ति राष्ट्र अमेरिका र रुसबीच भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउने होड देखिन थालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गर्दै भारतसँगको रणनीतिक साझेदारीलाई थप विस्तार गर्ने संकेत दिएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र भारतबीच छिट्टै ठूलो व्यापार सम्झौता हुन सक्ने बताएका छन्। उनले प्रधानमन्त्री मोदीलाई आफ्नो ‘धेरै राम्रो साथी’ भन्दै दुई देशबीचको सम्बन्ध बलियो रहेको र दुवै नेताले एकअर्कालाई राम्रोसँग बुझ्ने दाबी गरे।
ट्रम्पले विगतमा भारतले अमेरिकामाथि उच्च भन्सार शुल्क लगाएर लाभ लिएको तर अमेरिकाले त्यसअनुसार प्रतिफल नपाएको टिप्पणी गरे। तर अहिले परिस्थिति परिवर्तन भइसकेको र भारतसँगको व्यापारबाट अमेरिकाले राम्रो आम्दानी गर्न थालेको उनको भनाइ थियो।
‘हामी एउटा महत्वपूर्ण सम्झौतामा पुग्नेछौँ, किनकि म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु,’ ट्रम्पले भने।
यद्यपि, मोदीको प्रशंसा गरिरहेका ट्रम्पकै प्रशासनले भारतसहित ५४ देशमाथि अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको छ। अमेरिकी प्रशासनका अनुसार ती देशहरूले जबर्जस्ती श्रमबाट उत्पादित सामग्रीको आयात नियन्त्रणमा पर्याप्त कदम नचालेकाले यस्तो निर्णय गरिएको हो।
यता, रुसी राष्ट्रपति पुटिनले जुन ४ मा सेन्ट पिटर्सबर्गमा पीटीआईसहित विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रमुखहरूसँगको भेटमा भारत र प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरेका छन्।
पुटिनले अमेरिकाले भारतलाई रुससँगको सम्बन्धका विषयमा दबाब दिन खोजे पनि त्यस्तो प्रयास सफल नहुने दाबी गरे। उनका अनुसार भारतले सधैं आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने भएकाले कुनै पनि बाह्य दबाबले उसको विदेश नीतिलाई प्रभावित पार्न सक्दैन।
भारतलाई ‘महान् राष्ट्र र लोकतान्त्रिक शक्ति’ को संज्ञा दिँदै पुटिनले रुसका लागि भारत भरपर्दो र दीर्घकालीन साझेदार भएको बताए। उनले भारत र अमेरिकाबीचको बढ्दो सहकार्यले पनि भारत–रुस सम्बन्धमा कुनै असर नपर्ने दाबी गरे।
पश्चिमी मुलुकहरूले रुससँगको सहकार्य घटाउन भारतमाथि दबाब सिर्जना गर्ने प्रयास गरे पनि त्यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई नै कमजोर बनाउने अवस्था आउने पुटिनको भनाइ थियो।
उनले प्रधानमन्त्री मोदीको नेतृत्व, नीतिगत स्थिरता र सरकारको निरन्तर प्रयासका कारण भारत विश्वकै तीव्र आर्थिक वृद्धिदर भएका मुलुकमध्ये एक बनेको उल्लेख गर्दै आगामी वर्षहरूमा भारत–रुस व्यापार १०० अर्ब अमेरिकी डलरसम्म पुग्ने विश्वास व्यक्त गरे।
यस वर्ष भारतले ब्रिक्सको अध्यक्षता गरिरहेको छ। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारत जाने कार्यक्रम रहेको छ। त्यस्तै, प्रधानमन्त्री मोदीको पनि यही वर्ष रुस भ्रमण तय भएको बताइएको छ।
यसअघि सन् २०२५ डिसेम्बर ४ मा सम्पन्न २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारत आएका थिए। युक्रेन युद्ध सुरु भएपछिको त्यो उनको पहिलो भारत भ्रमण तथा सन् २०२१ पछिको दोस्रो भ्रमण थियो।
दिल्ली पुगेपछि पुटिन र मोदी एउटै टोयोटा एसयूभीमा प्रधानमन्त्री निवासतर्फ गएका थिए, जसले दुवै नेताबीचको व्यक्तिगत सम्बन्धलाई पनि चर्चा दिलाएको थियो।
डिसेम्बर २०२५ मा सम्पन्न शिखर वार्ताका क्रममा भारत र रुसबीच विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएका थिए। रुसले भारतको बढ्दो अर्थतन्त्रका लागि इन्धनको नियमित र अवरोधरहित आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।
त्यसैगरी, भारतीय कम्पनीहरूले रुसी साझेदारसँग मिलेर रुसमै युरिया उत्पादन प्लान्ट स्थापना गर्ने सहमति गरेका थिए। भारतको एफएसएसएआई र रुसको उपभोक्ता सुरक्षा एजेन्सीबीच खाद्य सुरक्षासम्बन्धी मापदण्डलाई थप प्रभावकारी बनाउने सम्झौता पनि भएको थियो।
दुवै देशबीच चिकित्सा अनुसन्धान, स्वास्थ्य सेवा, बन्दरगाह तथा सिपिङ सञ्चालनमा सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएका थिए। साथै, नागरिकहरूको आवतजावत सहज बनाउन र आप्रवासन प्रक्रिया सरल बनाउने विषयमा समेत सहमति भएको थियो।
विश्व राजनीतिमा बदलिँदो शक्ति सन्तुलनका बीच अमेरिका र रुस दुवैले भारतसँगको सम्बन्धलाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको स्पष्ट संकेत यी पछिल्ला घटनाक्रमहरूले दिएका छन्।
