नेपालगन्जमा सुरु भयो प्रविधि राष्ट्रिय सम्मेलन
लुम्बिनी प्रदेश
कोहलपुर, बाँके । प्रविधि र नवप्रवर्तनमार्फत समाज रूपान्तरणका उपाय खोज्ने उद्देश्यसहित ‘रुपान्तरणका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु हुँदैछ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो।
इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी प्रयोगमार्फत समाजमा देखिएका विभिन्न समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार सम्मेलनमा विभिन्न विषयसँग सम्बन्धित नौ वटा प्राविधिक सत्र सञ्चालन गरिनेछ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले सम्मेलनमा युवा अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानमूलक कार्य प्रस्तुत गर्ने जानकारी दिए। साथै प्रविधिलाई लुम्बिनी प्रदेशको समग्र विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष प्यानल छलफल पनि आयोजना गरिने उनले बताए।
उनका अनुसार सम्मेलनमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकासका क्षेत्रमा कार्यरत विभिन्न विज्ञ तथा विशेषज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ।
उपकुलपति ढकालले नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउन सम्मेलन उपयोगी हुने बताए। उनले यस्ता कार्यक्रमले अनुसन्धान, नवप्रवर्तन र स्थानीय आवश्यकताबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
