तनावबीच इरानी खेलाडीलाई बल्लतल्ल दियो अमेरिकाले भिसा
लस एन्जलस । संयुक्त राज्य अमेरिकाले द्वन्द्वबीच इरानका राष्ट्रिय फुटबल खेलाडीहरूलाई भिसा दिएको छ।
आगामी फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो खेल सुरु हुनुभन्दा करिब १० दिन अघि इरानी टोलीलाई अमेरिका प्रवेश अनुमति दिइएको हो।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार इरानको राष्ट्रिय टोलीलाई भिसा प्रदान गरिएको छ। यद्यपि, इरानी टोलीका केही प्राविधिक तथा प्रशासनिक सदस्यहरूलाई भने भिसा नदिइएको समाचार पनि सार्वजनिक भएको छ।
यसअघि इरानका लागि मेक्सिकोका राजदूत अबोल्फाजल पसान्डिदेहले बिहीबार रातिसम्म पनि अमेरिकी भिसा प्राप्त नभएको बताएका थिए। तर त्यसपछि टर्कीका लागि अमेरिकी राजदूत टम ब्यारेकले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इरानी टोलीलाई अमेरिका प्रवेश अनुमति दिइएको पुष्टि गरेका छन्।
इरानी फुटबल संघले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
मे महिनाको अन्त्यतिर भिसा नपाएको कारण इरानले आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा सारिएको थियो। पछिल्ला घटनाक्रमले भिसा प्रक्रियामा देखिएको अनिश्चितता अन्त्य भएको देखिए पनि सम्पूर्ण टोलीलाई पूर्ण रूपमा प्रवेश अनुमति नदिइएको विषयले प्रश्न उठाएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई इरानको प्रतिनिधिमण्डलमा इस्लामिक रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश अनुमति नदिइने स्पष्ट पारेका थिए।
फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ, जसको संयुक्त आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्दैछन्।
