रूस-युक्रेन तनाव : ड्रोन हानाहान जारी
काठमाडौं। रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर ड्रोज्डेन्को ले शनिबार टेलिग्राममार्फत सुरक्षा बलले २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) नष्ट गरेको र थप सैन्य कारबाही जारी रहेको बताएका छन्।
घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सञ्चालन भइरहेका बेला भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन ले सम्बोधन गरेको एक दिनपछि भएको यो आक्रमणलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार राजधानी मस्कोतर्फ उडिरहेका थप नौ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ।
युद्वको सुरुवात धेरै वर्षअघि भएको हो। पछिल्ला वर्तमान घटनाले यस युद्वलाई मलजल गरेपनि सन् १९९१ मा सोभियत संघ विघटन भएपछि युक्रेन स्वतन्त्र राष्ट्र बनेपछि युक्रेनले पश्चिमी मुलुकहरूसँग सम्बन्ध विस्तार गर्न थालेको थियो। रूस भने युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रभित्रै राख्न चाहन्थ्यो।
सन् २०१४ मा युक्रेनमा भएको जनआन्दोलनपछि रूस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्युत भए। त्यसलगत्तै रूसले युक्रेनको क्रिमिया क्षेत्र आफ्नो नियन्त्रणमा लियो। यही वर्षदेखि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रूस समर्थित पृथकतावादी समूह र युक्रेनी सेनाबीच सशस्त्र द्वन्द्व सुरु भयो।
यसबीच युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सँग निकटता बढाउँदै गयो। रूसले भने युक्रेनको सम्भावित नाटो सदस्यतालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भन्दै आएको थियो।
अन्ततः सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्यो। राष्ट्रपति पुटिनले यसलाई ‘विशेष सैन्य अभियान’ भनेका थिए। तर युक्रेन र पश्चिमी राष्ट्रहरूले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै व्यापक विरोध जनाए।
युद्धको सुरुआती चरणमा रूसले राजधानी कीभ कब्जा गर्ने प्रयास गरे पनि युक्रेनी प्रतिरोधका कारण पछि हट्नुपरेको थियो। त्यसपछि युद्ध मुख्यतः पूर्वी र दक्षिणी क्षेत्रमा केन्द्रित हुँदै आएको छ।
अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई ठूलो मात्रामा आर्थिक सहायता, हतियार र सैन्य उपकरण उपलब्ध गराउँदै आएका छन्। अर्कोतर्फ, रूसले आफ्नो रक्षा उद्योगलाई तीव्र रूपमा विस्तार गर्दै युद्ध जारी राखेको छ।
पछिल्ला दुई वर्षमा युद्धको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको छ। परम्परागत ट्यांक र तोपखानाको प्रयोगसँगै दुवै पक्षले लामो दूरीका मिसाइल र ड्रोन प्रविधिको व्यापक प्रयोग गर्न थालेका छन्। युक्रेनले रूसको भित्री भागमा रहेका तेल भण्डारण केन्द्र, हवाई अड्डा र सैनिक पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरिरहेको छ भने रूसले पनि युक्रेनका ऊर्जा संरचना र सहरहरूमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।
सेन्ट पिटर्सबर्ग र मस्कोजस्ता रूसका प्रमुख सहरसम्म युक्रेनी ड्रोन पुग्न थालेपछि युद्धको प्रभाव सीमावर्ती क्षेत्रबाट बाहिर फैलिएको देखिएको छ। यसले रूसको आन्तरिक सुरक्षामाथि नयाँ चुनौती खडा गरेको विश्लेषण गरिएको छ।
संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले पटक-पटक युद्धविराम र वार्ताको प्रयास गरे पनि अहिलेसम्म स्थायी समाधान निस्कन सकेको छैन।
बरु पछिल्ला महिनाहरूमा दुवै पक्षका ड्रोन तथा मिसाइल आक्रमण अझ तीव्र बन्दै गएका छन्।
