अन्तरवार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि…
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टेलिभिजन एनबीसी न्युजको ‘मिट द प्रेस’ नामक अन्तर्वार्ता चलिरहेको क्रममा रिसाउँदै अन्तर्वार्ता बीचमै छोडेका छन् ।
अन्तर्वार्ता पत्रकार क्रिस्टिन वेल्करसँग भइरहेको थियो । सो क्रममा सन् २०२० को राष्ट्रपति चुनाव र ६ जनवरीमा अमेरिकी संसद् भवन (क्यापिटल) मा भएको दंगासम्बन्धी प्रश्नहरू उठेपछि ट्रम्प असन्तुष्ट बनेका थिए ।
ट्रम्पले पुनः २०२० को चुनाव धाँधली भएको भन्ने आधारहीन दाबी दोहोर्याए । पत्रकार वेल्करले क्यालिफोर्नियाको गभर्नर चुनाव प्रक्रिया र मतगणनाबारे प्रश्न गर्दा उनले त्यसलाई अस्वीकार गर्दै आक्रोश व्यक्त गरे ।
ट्रम्पले एनबीसी र कार्यक्रमलाई नै भ्रष्ट भन्दै आरोप लगाए । उनले पत्रकारलाई ‘तँ या त भ्रष्ट छेस् कि मूर्ख छेस्’ भनेर टिप्पणी समेत गरे ।
जब पत्रकारले प्रमाण मागिन्, ट्रम्पले कुनै ठोस प्रमाण प्रस्तुत नगरी चुनावमा धाँधली भएको दाबी दोहोर्याइरहे । केही समयपछि उनले ‘मलाई पुग्यो’ भन्दै माइक्रोफोन उतारेर अन्तर्वार्ता बीचमै छाडे ।
अन्तर्वार्ता क्रममा वेल्करले उनलाई सम्झाउँदै आफू विशेष अन्तर्वार्ताका लागि विस्कन्सिन पुगेको बताइन् । त्यसको जवाफमा ट्रम्पले आफूले पर्याप्त समय दिइसकेको भन्दै प्रतिक्रिया दिए ।
ट्रम्पले भने, ‘म तिमीसँग एक घण्टादेखि झरीमा बसिरहेको छु, पानी पर्दै रोकिँदै गरिरहेको छ । मैले त तिमीलाई पर्याप्त समय दिइसके । तिमीले आफ्नो प्रेसलाई सिधा गर्नुपर्छ,’ भन्दै अन्तर्वार्ता छोडेर हिँडे ।
अन्तर्वार्तामा उनले ६ जनवरी २०२१ को क्यापिटल आक्रमणबारे पनि विवादास्पद टिप्पणी गरे । उनले ती घटनामा संलग्न व्यक्तिहरूलाई संघीय अनुसन्धान निकायले भवनभित्र प्रवेश गर्न प्रोत्साहित गरेको जस्तो आधारहीन दाबी दोहोर्याए ।
त्यसैगरी, उनले ती व्यक्तिहरूले सजायको डरले दोष स्वीकार गरेको समेत दाबी गरे ।
अन्तर्वार्ताको अन्त्यतिर उनले आफैंले प्रस्ताव गरेको ‘एन्टी–वेपनाइजेशन फन्ड’ अन्तर्गत ती व्यक्तिहरूलाई क्षतिपूर्ति दिने विषयमा स्पष्ट जवाफ दिन अस्वीकार गरे ।
एनबीसी न्युजले ट्रम्पको अन्तर्वार्ता बीचमै छोडिएको विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
