विलियम्सनले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । न्युजिल्याण्डका महान ब्याट्सम्यान तथा पूर्वकप्तान केन विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनको निर्णयसँगै विश्व क्रिकेटका सबैभन्दा सम्मानित र सफल खेलाडीमध्ये एकको १६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा समाप्त भएको छ।
सन् २०१० मा न्युजिल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विलियम्सनले आफ्नो करियरभर उत्कृष्ट ब्याटिङ, अनुकरणीय नेतृत्व र खेलप्रतिको समर्पणका कारण विशेष पहिचान बनाए । शान्त स्वभाव, संयमित व्यक्तित्व र कठिन परिस्थितिमा समेत टोलीलाई नेतृत्व गर्ने क्षमताका कारण उनी विश्व क्रिकेटका सबैभन्दा सम्मानित कप्तानमध्ये एक मानिन्छन्।
विलियम्सनले आफ्नो करियरमा टेस्ट, एकदिवसीय र टी-२० गरी कुल ३७८ अन्तर्राष्ट्रिय खेल खेले। उनले ४५२ इनिङ्समा १९ हजार ३४६ रन बनाएका छन्। उनको औसत ४८.१२ रहेको छ भने उनले ४८ शतक र १०३ अर्धशतक बनाएका छन्।
टेस्ट क्रिकेटमा विलियम्सनको योगदान विशेष रूपमा उल्लेखनीय छ। उनले ११० टेस्ट खेलमा ९ हजार ५१५ रन बनाएका छन्। ५४.०६ को प्रभावशाली औसतसहित उनले ३३ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। टेस्ट क्रिकेटमा उनको उच्चतम स्कोर २५१ हो । उनी न्युजिल्याण्डका सर्वाधिक सफल टेस्ट ब्याट्सम्यानका रूपमा चिनिन्छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १७५ खेल खेल्दै ७ हजार २५६ रन जोडे। ४८.६९ को औसतमा उनले १५ शतक र ४७ अर्धशतक बनाएका छन्। यस्तै, टी-२० अन्तर्राष्ट्रियमा ९३ खेल खेल्दै २ हजार ५७५ रन बनाएका उनले छोटो प्रारूपमा पनि आफ्नो प्रभावशाली उपस्थितिलाई कायम राखेका थिए।
विलियम्सनको कप्तानीमा न्युजिल्याण्ड क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको थियो। उनले टोलीलाई सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुर्याएका थिए, जहाँ न्युजिल्याण्ड दुर्भाग्यपूर्ण रूपमा इंग्ल्याण्डसँग पराजित भएको थियो। त्यस प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित गरिएको थियो।
उनकै नेतृत्वमा न्युजिल्याण्डले सन् २०२१ मा पहिलो पटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको थियो। यो उपलब्धि न्युजिल्याण्ड क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफलतामध्ये एक मानिन्छ।
विलियम्सन केवल उत्कृष्ट ब्याट्सम्यान मात्र नभई खेलभावना, अनुशासन र विनम्रताको प्रतीक पनि थिए। मैदानभित्र र बाहिर उनको व्यवहारले विश्वभरका क्रिकेट समर्थकहरूको मन जितेको थियो।
