इलन मस्क : विश्वकै पहिलो ‘ट्रिलियनियर’
काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने चरणमा पुगेका छन्। उनको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) मार्फत ७५ अर्ब अमेरिकी डलर जुटाएपछि मस्कको कुल सम्पत्ति एक ट्रिलियन डलर नाघ्ने अनुमान गरिएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका वित्तीय विवरण र बजार मूल्यांकनका आधारमा गरिएको गणनाले मस्कको सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने देखाएको छ। शुक्रबार सेयर कारोबार सुरु भएसँगै उनको सम्पत्तिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
यसअघि फोर्ब्सले मस्कको कुल सम्पत्ति करिब ७८० अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो। पछिल्लो मूल्यांकनअनुसार उनको सम्पत्तिको ठूलो हिस्सा स्पेसएक्समा केन्द्रित छ। कम्पनीमा रहेको उनको स्वामित्वको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर रहेको बताइएको छ। टेस्ला तथा अन्य व्यवसायिक लगानीले समेत उनको सम्पत्तिलाई थप उचाइमा पुर्याएको छ।
फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति विश्वका दोस्रो धनी व्यक्तिको तुलनामा झन्डै तीन गुणा बढी हुन सक्छ। उनका अनुसार दोस्रो स्थानमा रहेका व्यक्तिको सम्पत्ति करिब ३०० अर्ब डलरको हाराहारीमा रहेको छ।
हाल मस्कपछि ल्यारी पेज विश्वका धनी व्यक्तिहरूको सूचीमा अग्रस्थानमा रहेका व्यक्तिमध्ये एक मानिन्छन्।
५४ वर्षीय मस्कको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको हो। उनले पेन्सिल्भानिया विश्वविधालयबाट सन् १९९७ मा अध्ययन पूरा गरेका थिए। सन् २००८ मा Tesla को नेतृत्व सम्हालेपछि उनले विद्युतीय सवारीसाधन उद्योगमा नयाँ युगको सुरुआत गरेको श्रेय पाएका छन्।
विश्लेषकहरूका अनुसार टेस्लाको सफलताले विश्वभरका परम्परागत अटोमोबाइल कम्पनीहरूलाई विद्युतीय सवारी उत्पादनमा लगानी बढाउन प्रेरित गरेको छ।
टेस्ला र स्पेस-एक्स बाहेक मस्कले अन्य विभिन्न कम्पनीहरूको पनि सह-स्थापना गरेका छन्। तीमध्ये द बोरिङ कम्पनी र न्युरालिङ्क विशेष चर्चामा रहेका कम्पनी हुन्।
यद्यपि मस्कको व्यवसायिक सफलता सधैं विवादमुक्त भने रहेको छैन। सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) खरिद गरेपछि उनी राजनीति, आप्रवासन, सरकारी खर्च तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विषयमा खुलेर धारणा राख्ने व्यक्तिका रूपमा परिचित बनेका छन्।
सन् २०२५ मा विभिन्न अन्तर्राष्ट्रिय बजारमा टेस्लाको बिक्रीमा गिरावट आउनुका साथै कम्पनीविरुद्ध बहिष्कार र प्रदर्शनका अभियान सञ्चालन भए पनि लगानीकर्ताहरूको मस्कप्रतिको विश्वास भने बलियो रहेको विश्लेषकहरूले बताएका छन्। यही विश्वासले उनलाई विश्वकै पहिलो ट्रिलियनियर बन्ने ऐतिहासिक उपलब्धिको नजिक पुर्याएको मानिएको छ।
