`

५०० मिलियन सब्सक्राइबर पार गर्ने पहिलो युट्युबर बने ‘मिस्टर बिस्ट’

Nepal One HD ३० जेठ २०८३ ११:३५
मनोरञ्जन

काठमाडौं। अमेरिकी युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) ले युट्युबको इतिहासमै नयाँ कीर्तिमान कायम गर्दै ५० करोड (५०० मिलियन) सब्सक्राइबर पार गर्ने पहिलो क्रिएटर बनेका छन्। शुक्रबार उनले यो ऐतिहासिक आँकडा पार गर्दै विश्व डिजिटल सामग्री निर्माणको क्षेत्रमा नयाँ अध्याय लेखेका छन्।

मिस्टर बिस्ट सन् २०२२ नोभेम्बरमा सबैभन्दा धेरै सब्सक्राइबर भएका व्यक्तिगत क्रिएटर बनेका थिए। त्यसपछि सन् २०२४ जुनमा उनी युट्युबकै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलका रूपमा स्थापित भए।

उनको च्यानलले मनोरञ्जन, ठूला बजेटका प्रतियोगिता र सामाजिक अभियानहरूलाई समेट्दै विश्वव्यापी दर्शक आकर्षित गर्दै आएको छ।

उनको चर्चित भिडियो ‘स्क्विड गेम इन रियल लाइफ’ करिब १ अर्ब भ्युज पुग्न लागेको छ, जसलाई करियरको महत्वपूर्ण मोड मानिन्छ।

त्यसपछि उनले ५० जना युट्युबरबीच १० लाख अमेरिकी डलर पुरस्कार राखेर ठूला प्रतियोगिता आयोजना गर्दै युट्युब कन्टेन्टको स्तर नै परिवर्तन गरेका छन्।

५० करोड सब्सक्राइबर नजिकिँदै गर्दा उनले लाइभ स्ट्रिम गरेका थिए, जसलाई ६ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका थिए।

सो क्रममा प्रशंसकहरूले रमाइलो गर्दै केही समयका लागि अनसब्सक्राइब गरेर फेरि सब्सक्राइब गर्ने गतिविधि गरेका थिए, जसले उक्त क्षणलाई झनै भाइरल बनायो।

भावुक बनेका मिस्टर बिस्टले आफ्नो संघर्षपूर्ण विगत सम्झिँदै सन् २००८ को आर्थिक संकटका कारण परिवारले कठिन अवस्था भोगेको बताएका थिए।

उनले ११ वर्षको उमेरमै युट्युब सुरु गरेको र त्यसपछि करिब ६० देखि ७० हजार घण्टा काम गरेको उल्लेख गरेका छन्।

मिस्टर बिस्ट केवल मनोरञ्जनमा सीमित छैनन्, उनी विश्वभरका परोपकारी अभियानका लागि पनि परिचित छन्।

#टिम ट्रिज अभियानमार्फत २५ मिलियन डलर संकलन गरी २५ मिलियन रूख रोपेका थिए।  त्यस्तै #टिम सीज अभियानमार्फत ३० मिलियन डलर संकलन गरी समुद्र र तट सफा गरे। #टिम वाटर अभियानमार्फत ११५ देशका क्रिएटरहरूको सहभागितामा ४० मिलियन डलर जुटाई स्वच्छ पानी परियोजनामा सहयोग गरे।

मिस्टर बिस्टले ५० करोड सब्सक्राइबर विशेष भिडियो छिट्टै सार्वजनिक गर्ने घोषणा गरेका छन्। साथै उनले आफ्नो चकलेट ब्रान्ड फिस्टेबल्स लगायतका परियोजनालाई अझ विस्तार गर्ने योजना पनि बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *