३६ वर्षपपछि विश्वकपमा जित्यो स्कटल्याण्ड
एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै विश्वकपमा ३६ वर्षयताको प्रतीक्षित जित हासिल गरेको छ।
बोस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनको गोलको मद्दतमा स्कटल्यान्डले सन् १९९० यता पहिलो पटक विश्वकपमा विजयको स्वाद चाख्न सफल भयो।
पहिलो हाफको २८औँ मिनेटमा म्याकगिनको प्रहार विपक्षी खेलाडीमा ठोक्किँदै गोलपोस्टभित्र प्रवेश गरेपछि स्कटल्यान्डले अग्रता बनाएको थियो। अन्ततः त्यही गोल खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।
खेलअघि प्रशिक्षक स्टिभ क्लार्कले रायन क्रिस्टीलाई बेन्चमा राख्दै म्याकगिनलाई सुरुआती रोजाइमा समेट्ने निर्णय निकै कठिन रहेको बताएका थिए। तर अनुभवी मिडफिल्डर म्याकगिनले निर्णायक प्रदर्शन गर्दै प्रशिक्षकको विश्वासलाई सही सावित गरे।
यद्यपि स्कटल्यान्डका लागि खेल सहज भने रहेन। बल नियन्त्रणमा अपेक्षाकृत कमजोर देखिएको टोलीमाथि हैटीले निरन्तर दबाब सिर्जना गरेको थियो। क्यारिबियन राष्ट्र हैटीले आक्रमणको अवसर खोज्दै पटक–पटक स्कटल्यान्डको रक्षापंक्तिलाई चुनौती दियो।
यस क्रममा गोलरक्षक एङ्गस गन टोलीका लागि संकटमोचक बने। उनले केही महत्वपूर्ण बचाउ गर्दै विपक्षीलाई गोल गर्नबाट रोके। पहिलो रोजाइका गोलरक्षकको जिम्मेवारी सम्हालिरहेका गनको प्रदर्शन स्कटल्यान्डको जितमा महत्वपूर्ण रह्यो।
दोस्रो हाफमा स्कटल्यान्डसँग अग्रता बढाउने अवसरहरू पनि आएका थिए। विशेषगरी म्याकगिनले खेलको अन्त्यतिर पाएको राम्रो अवसर सदुपयोग गर्न नसक्दा टोली दोस्रो गोलबाट वञ्चित रह्यो।
अर्कोतर्फ, हैटीले बराबरी गोलको खोजी अन्तिम समयसम्म जारी राख्यो। फ्रान्ट्ज्दी पिएरोटको हेड प्रहार लक्ष्यभन्दा थोरैले बाहिरिएपछि स्कटल्यान्डले राहतको सास फेरेको थियो।
यस जितसँगै स्कटल्यान्डले समूह ‘सी’ बाट नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूहको अर्को खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका कारण स्कटल्यान्ड अंकतालिकाको लाभदायक अवस्थामा पुगेको छ।
अब स्कटल्यान्डले जुन १९ मा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलबाट सकारात्मक नतिजा निकाल्न सके टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना अझ प्रबल बन्नेछ।
