विश्वकप : टर्कीमाथि अष्ट्रेलियाको २-० को शानदार जित
खेलकुद
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक हासिल गरेको छ।
बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै प्रभावशाली जित दर्ता गर्यो। टोलीको जितमा नेस्टोरी इरानकुन्डा र कन्नर मेटकाल्फले गोल गरे।
अष्ट्रेलियाले २७औँ मिनेटमा खेलको पहिलो गोल गरेको थियो। पाउल ओकोन–एङ्स्टलरको लामो पासमा नेस्टोरी इरानकुन्डाले उत्कृष्ट नियन्त्रणसहित गोल गर्दै टोलीलाई अग्रता दिलाए। तीव्र काउन्टर अट्याकबाट आएको उक्त गोलले खेलको लय अष्ट्रेलियातर्फ मोड्यो।
पहिलो हाफमा बल नियन्त्रणमा टर्की हावी देखिए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। कप्तान हाकान चाल्हानोग्लु र युवा स्टार अर्दा गुलरको नेतृत्वमा टर्कीले लगातार आक्रमण बुन्ने प्रयास गरेको थियो। तर अष्ट्रेलियाको संगठित रक्षापंक्तिले उनीहरूको प्रयास विफल बनायो।
दोस्रो हाफमा बराबरी गोलको खोजीमा टर्कीले थप आक्रामक खेल प्रस्तुत गरे पनि अष्ट्रेलियाले काउन्टर अट्याकको रणनीतिलाई प्रभावकारी रूपमा प्रयोग गरिरह्यो। त्यसकै परिणामस्वरूप ७५औँ मिनेटमा कन्नर मेटकाल्फले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए।
बाँकी समयमा टर्कीले खेलमा फर्कने प्रयास गरे पनि अष्ट्रेलियाको रक्षा र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। अन्ततः अष्ट्रेलियाले २–० को सहज जित निकाल्दै समूह चरणमा सुखद सुरुआत गरेको हो।
यो जितसँगै अष्ट्रेलियाले समूह ‘डी’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने टर्की पहिलो खेलमै अंकविहीन बनेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
