`

अर्जेन्टिनाको जर्सी विश्वकै सबैभन्दा महँगो जर्सी कसरी बन्यो ?

Nepal One HD ३१ जेठ २०८३ १६:३१
खेलकुद

एजेन्सी । फुटबल इतिहासमा केही कथा यस्ता छन्, जुन मैदानभित्रको प्रदर्शनभन्दा पनि मैदानबाहिरका घटनाले अमर बनाएका छन्। सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले लगाएको अर्जेन्टिनाको प्रसिद्ध नीलो जर्सी पनि त्यस्तै एउटा कथा हो। विश्वकप क्वार्टरफाइनलमा इङ्गल्याण्डविरुद्ध लगाइएको यही जर्सी पछि खेलकुद इतिहासकै सबैभन्दा महँगो लिलामी वस्तु बनेको थियो।

विश्वकपको त्यो ऐतिहासिक खेल हुन तीन दिनअघि अर्जेन्टिनी टोली जर्सी संकटमा परेको थियो। फिफाको नियमअनुसार अर्जेन्टिनाले आफ्नो पारम्परिक सेतो ‘होम’ जर्सी लगाउन नपाउने भयो। उपलब्ध गाढा नीलो ‘अवे’ जर्सी भने मेक्सिको सिटीको गर्मी र उचाइमा खेल्न असहज मानिएको थियो।

त्यसपछि प्रशिक्षक कार्लोस बिलार्डोको निर्देशनमा टोलीका सदस्यहरू मेक्सिको सिटीको चर्चित ‘टेपिटो’ सडक बजार पुगे। त्यहाँ विभिन्न विकल्प खोज्ने क्रममा उनीहरूले हल्का र आरामदायी नीलो जर्सी फेला पारे। स्थानीय बजारबाट किनिएको यही जर्सीलाई अर्जेन्टिनाले इङ्गल्याण्डविरुद्ध प्रयोग गर्ने निर्णय गर्‍यो।

अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोनाले जर्सी देखेपछि भनेका थिए, ‘यो जर्सी राम्रो छ, हामी यसैमा इङ्गल्याण्डलाई हराउनेछौँ।’

२२ जुन १९८६ मा एस्टाडियो एज्टेकामा भएको क्वार्टरफाइनल खेलमा म्याराडोनाले यही जर्सी लगाएर फुटबल इतिहासका दुई चर्चित गोल गरे। पहिलो गोल ‘ह्यान्ड अफ गड’ नामले चर्चित बन्यो भने दोस्रो गोलमा उनले आधा मैदानबाट बल लिएर इङ्गल्याण्डका पाँच खेलाडी र गोलकिपरलाई छक्याउँदै गोल गरे। उक्त गोललाई पछि फिफाले ‘शताब्दीकै उत्कृष्ट गोल’ घोषणा गरेको थियो।

अर्जेन्टिनाले खेल २–१ ले जित्दै सेमिफाइनल प्रवेश गर्‍यो। खेलपछि इङ्गल्याण्डका मिडफिल्डर स्टिभ हजले म्याराडोनासँग जर्सी साटेका थिए। त्यतिबेला सामान्य सम्झना जस्तो देखिएको त्यो जर्सी भविष्यमा ऐतिहासिक सम्पत्ति बन्ने कसैले कल्पना गरेको थिएन।

हजले करिब दुई दशकसम्म जर्सी आफ्नै संग्रहमा राखे। पछि त्यो जर्सी इङ्गल्याण्डको राष्ट्रिय फुटबल सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखियो। सन् २०२२ मा प्रसिद्ध लिलामी संस्था सोथबिजमार्फत उक्त जर्सी बिक्रीमा राखियो।

लिलामीमा जर्सी ७.१ मिलियन पाउण्ड अर्थात् करिब ९.३ मिलियन अमेरिकी डलरमा बिक्री भयो। नेपाली रुपैयाँमा यसको मूल्य झन्डै १ अर्ब ३७ करोड रुपैयाँ बराबर पर्छ। यो रकम खेलकुद सम्झनासम्बन्धी वस्तुका लागि तिरिएको अहिलेसम्मकै उच्च मूल्य मानिन्छ।

जर्सीको मूल्य बढ्नुका पछाडि केवल म्याराडोनाको नाम मात्र कारण होइन। यसको उत्पत्ति, विश्वकपको ऐतिहासिक खेलसँगको सम्बन्ध, ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ जस्ता अमर क्षणसँग जोडिएको इतिहासले यसलाई अद्वितीय बनाएको छ।

यसबाहेक, अर्जेन्टिनाको त्यतिबेलाको किट निर्माता ‘ले कक स्पोर्टिफ’ कम्पनीले सन् २०२५ मा दिवालियापन घोषणा गरेपछि त्यस अवधिका मौलिक जर्सीहरूको दुर्लभता अझ बढेको छ।

सन् २०२६ को विश्वकप फेरि अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। एस्टाडियो एज्टेका पुनः विश्वकपको केन्द्र बन्ने भएकाले म्याराडोनाको १९८६ को कथा र त्यो ऐतिहासिक जर्सीप्रति विश्वभरका फुटबल समर्थक र सङ्कलकहरूको चासो झन् बढ्ने अपेक्षा गरिएको छ।

सडक बजारको एउटा साधारण स्टलबाट सुरु भएको यो जर्सीको यात्रा आज फुटबल इतिहासकै सबैभन्दा प्रतिष्ठित र मूल्यवान् खेलकुद सम्पत्तिको रूपमा दर्ज भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *