विश्वकप : ट्युनिसियाविरुद्द स्विडेनको शानदार जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्विडेनले ट्युनिसियामाथि ५-१ गोलको सहज जित दर्ता गरेको छ। एस्टाडियो मोन्टेरेमा सम्पन्न खेलमा स्विडेनले सुरुदेखि नै दबाब कायम राख्दै प्रभावशाली प्रदर्शन गरेको हो।
खेलको सातौं मिनेटमै यासिन आयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ३०औँ मिनेटमा भिक्टर ग्योकेरेसको पासमा अलेक्जान्डर इसाकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्त्यतिर ओमर रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काउँदै खेललाई २-१ को अवस्थामा ल्याए पनि त्यसपछि स्विडेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो।
दोस्रो हाफको ५९औँ मिनेटमा भिक्टर ग्योकेरेस स्वयंले गोल गर्दै स्विडेनको अग्रता ३-१ मा पुर्याए। खेलको अन्तिम चरणमा माटियास स्वानबर्गले अर्को गोल थपेपछि ट्युनिसियामाथि स्विडेनको पकड अझ बलियो बनेको थियो।
इन्जुरी समयमा यासिन आयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनको जितलाई ५-१ मा पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका आयारी टोलीको जितका प्रमुख नायक बने।
यो जितसँगै स्विडेन समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि सोही समूहको अर्को खेलमा जापान र नेदरल्यान्ड्सले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए। समूह चरणको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेपछि स्विडेनले उपाधि दाबेदारीलाई थप बलियो बनाएको छ।
