`

युद्ध अन्त्यको घोषणासँगै इरानी फुटबल टोली अमेरिकामा

Nepal One HD १ असार २०८३ ११:२१
खेलकुद

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्य तथा तनाव कम गर्ने सहमति सार्वजनिक भएकै समयमा इरानको राष्ट्रिय फुटबल टोली फिफा विश्वकप प्रतियोगिताका लागि अमेरिकामा पुगेको छ। टोली लस एन्जलसमा अवतरण गरेको भोलिपल्ट नै न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्ने तयारीमा रहेको छ।

अमेरिका–इरान सम्बन्धमा देखिएको पछिल्लो सकारात्मक विकासले थप सैन्य तनावको सम्भावना घटाएको भए पनि इरानी टोलीलाई घेरेको राजनीतिक बहस भने अझै कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी राष्ट्रिय टोलीका स्ट्राइकर मेहदी तारेमीले अमेरिका–इरानबीचको तनावले विश्वकपको तयारी र टोलीको यात्रालाई सुरुदेखि नै प्रभावित पारेको बताएका छन्। उनका अनुसार मैदानभित्रको प्रतिस्पर्धाभन्दा बाहिरका घटनाक्रमले पनि खेलाडीहरूलाई निरन्तर दबाबमा राखेको छ।

राजनीतिक परिस्थितिका कारण टोलीको तयारीमा समेत असर परेको थियो। भिसासम्बन्धी जटिलताका कारण इरानले आफ्नो प्रारम्भिक प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्नुपरेको थियो। यसले टोलीको तयारी योजनामा परिवर्तन ल्याएको बताइएको छ।

यसबीच, लस एन्जलसमा बसोबास गर्ने इरानी समुदायभित्र पनि राष्ट्रिय टोलीप्रति मिश्रित धारणा देखिएको छ। केही इरानी मूलका अमेरिकीहरूले सन् १९७९ को इस्लामिक क्रान्तिअघिको ‘सिंह र सूर्य’ झण्डामाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन्।

त्यसैगरी, केही समूहले वर्तमान राष्ट्रिय टोलीलाई इरानको विद्यमान राजनीतिक व्यवस्थासँग जोडेर हेर्ने गरेका छन्। यद्यपि खेलाडीहरूले आफूहरू राजनीतिक विवादभन्दा माथि उठेर सम्पूर्ण इरानी नागरिकलाई एकताबद्ध गर्ने र फुटबलमा मात्र केन्द्रित रहने उद्देश्यका साथ प्रतियोगितामा सहभागी भएको बताएका छन्।

तर विश्वकपको यस संस्करणमा इरानी टोलीका लागि राजनीतिबाट पूर्ण रूपमा अलग रहन सहज देखिएको छैन। मैदानमा खेलप्रति केन्द्रित रहने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय राजनीति र भूराजनीतिक तनावले टोलीलाई निरन्तर पछ्याइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *