`

बेइजिङमा परराष्ट्रमन्त्री खनाल र वाङ हुनिङबीच भेटवार्ता

Nepal One HD २ असार २०८३ १२:२०
प्रवास

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग बेइजिङमा भेटवार्ता गरेका छन्।

मंगलबार बिहान भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे विस्तृत छलफल भएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। भेटवार्ताका क्रममा विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

सो अवसरमा मन्त्री खनालले नेपाल–चीनबीचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ मजबुत र गतिशील बनाउन सिपिपिसिसी अध्यक्ष वाङले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए। उनले दुई देशबीचको परम्परागत मित्रता, आपसी विश्वास र सहयोग आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गरे।

भ्रमणका क्रममा मन्त्री खनालले मंगलबार नै ऐतिहासिक ‘ह्वाइट पागोडा’को अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले चिनियाँ सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई अन्तर्वार्ता दिनेछन्। अपराह्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत उनको सहभागिता रहने जनाइएको छ।

परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन्। भ्रमणका क्रममा सोमबार दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता सम्पन्न भएको थियो।

मन्त्री खनाल आफ्नो भ्रमण सम्पन्न गरी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *