‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म
काठमाडौँ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल प्लेटर्फमको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँगै सरकारका योजना, नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्याउने माध्यम बन्नेछ ।
नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, दुईतर्फी छलफल र व्यवहारिक समाधानका उपाय पनि सिधै सरकारसमक्ष पेश गर्न सक्नेछ । नागरिक चौतारीमार्फत नागरिकले सरकारलाई सिधै राय सुझाब उपलब्ध गराउन सक्छन भने सरकारले आम जनताको प्रत्यक्ष सहयोग र अपनत्व बढाउने विश्वास गरिएको छ ।
“यस डिजिटल प्लेटर्फमबाट सरकारले देश विकासका लागि योगदान दिन चाहने प्रतिभावान र मिहिनेती स्वयंसेवकको खोजी पनि गर्न सक्छ । देशभित्र वा बाहिर रहेका नेपाली नागरिकले यस प्लेटफर्ममार्फत देश विकासका लागि आफनो विज्ञता योगदान गर्न सक्नुहुनेछ”, स्वकीय उपसचिव ढकालले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले नागरिक चौतारी जनताले खोजेको सुशासनको बलियो माध्यम बन्ने र यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री एवं नतिजामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो । सार्वजनिक सेवा प्रवाह र सहभागितामूलक विकासको लागि उक्त माध्यम पारदर्शी हुने उहाँको भनाइ छ ।
हरेक नागरिकले सरल र सहजै रूपमा प्रयोग गर्न सक्ने गरी तयार भइरहेको नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोडिने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
