`

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

Nepal One HD ६ असार २०८३ ११:४५
समाचार

काठमाडौं । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटनाग्रस्त हुँदा ३२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बा.२ ख ६४३८ नम्बरको बस शनिवार बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको बसमा सवार यात्रुहरू घाइते भएका हुन्।

दुर्घटनालगत्तै प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था सामान्य रहेको बताइएको छ भने सबैको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। बस कसरी अनियन्त्रित भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनासम्बन्धी थप विवरण संकलन भइरहेको र प्रारम्भिक अनुसन्धानपछि दुर्घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *