`

पछिल्लो ११ महिनामा मुस्ताङ पुग्ने पर्यटकको संख्या १७ लाख

Nepal One HD ६ असार २०८३ १२:०१
अर्थ समाचार

म्याग्दी । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सात लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। बेनी–जोमसोम सडकमार्फत मुस्ताङ प्रवेश गर्ने पर्यटकको सङ्ख्याले गत आर्थिक वर्षको पूरै अवधिको तथ्याङ्कलाई लगभग बराबरी गरेको छ।

मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको अभिलेखअनुसार साउनदेखि जेठ मसान्तसम्म ७ लाख ५ हजार ७५४ पर्यटक मुस्ताङ भित्रिएका छन्। यो सङ्ख्या गत आर्थिक वर्षभरि मुस्ताङ भ्रमण गर्ने ७ लाख ५ हजार ७७९ पर्यटकको हाराहारीमा पुगेको हो।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक हुँदै प्रवेश गर्ने पर्यटकको विवरण घाँसामा संकलन गरिन्छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार ११ महिनाको अवधिमा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी र २ लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ पुगेका छन्।

सबैभन्दा बढी पर्यटक गत जेठ महिनामा भित्रिएका थिए। उक्त महिनामा मात्रै २७ हजार ४८८ सवारीसाधनमार्फत १ लाख ३१ हजार ७७७ पर्यटक मुस्ताङ पुगेका थिए, जसमध्ये ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक रहेका थिए।

पर्यटन व्यवसायीका अनुसार भारत सरकारले विदेश भ्रमणमा हुने खर्च घटाउने नीति अवलम्बन गरेपछि पोखरा, मुस्ताङलगायत नेपाली गन्तव्यमा भारतीय पर्यटकको आकर्षण बढेको छ। साथै लगातार सार्वजनिक बिदा परेका कारण नेपाली पर्यटकको रोजाइमा पनि मुस्ताङ परेको थियो।

पर्यटकको बढ्दो चापका कारण बेनी–जोमसोम सडकखण्डका बेनी, गलेश्वर, तातोपानी र दाना क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी वैशाख र जेठ महिनामा मौसम अनुकूल हुने भएकाले मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।

प्रहरी निरीक्षक बस्यालका अनुसार मुस्ताङ पुग्ने विदेशी पर्यटकमध्ये करिब ८० प्रतिशत भारतीय नागरिक छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर, कागबेनीधाम, कोरला नाका तथा ऐतिहासिक लोमान्थाङ पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन्।

हिमाली भूगोल, अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन संस्कृति र मौलिक जीवनशैलीका कारण मुस्ताङ नेपालकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *