पशुपति शम्शेर, कमल थापा र प्रकाशचन्द्र किन रिसाए राजेन्द्र लिङ्देनसँग ?
काठमाडौं । राप्रपाको केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था विधानमा छ । तर, विधानको याे व्यवस्थाकाे ठाडो उल्लंघन अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् ।
महामन्त्री धवलशम्शेर राणासहित ठूलाे सङ्ख्यामा नेताहरुले पार्टी छाडिरहँदा बसेकाे केन्द्रीय समिति बैठकमा विधान मिचेर अध्यक्ष लिङ्देनले गत चुनावमा उम्मेदवार बनेकाहरुलाई बैठकमा सहभागी गराए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘विधान मिचेर केन्द्रीय कार्य समितिको बैठक चलाउनु भनेको आलो घाउमा नुनचूक दल्नु हो, जुन काम अध्यक्ष लिङ्देन स्वयमले गरे ।’
उनले बैठकलाई अवैध भनेका छन् । ‘अवैध व्यक्ति सहभागी राखेर चलेको केन्द्रीय कार्य समितिको बैठक सरासर अवैध हो । अवैध बैठकको अवैध निर्णय कसरी मान्ने र कार्यान्वयन गर्ने ? पार्टी अध्यक्षको यस्तो अनियमित कामले राप्रपालाई कहाँ पुर्यायो ? केन्द्रीय समितिको कथित् बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरुको घैंटोमा घाम किन लाग्दैन ? किन कोही पनि केही बोल्दैनन् र?’ आक्राेशित हुँदै उनले भने ।
अर्का एक नेताका अनुसार विधान मिच्दै कारबाहीमाथि कारबाही गर्ने बानी बसेको अध्यक्ष लिङ्देनले यसपटक भने सबै सीमा नाघे । केन्द्रीय समितिको सदस्य नरहेका निर्वाचनका उम्मेदवारहरु राखेर लिङदेनले यसपटक बैठक आरम्भ गरेका छन् । जसको विरोधमा पूर्वअध्यक्षहरु पशुपतिशम्सेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालगायत वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीहरुले शुक्रबारबाट शुरु भएको केन्द्रीय समितिको बैठक बहिष्कार गरे ।
राप्रपाको विधानमा केन्द्रीय समितिका सदस्यहरु महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । त्यसबाहेक सदस्यहरु मनोनित गरिने प्रावधान समेत विधानमा उल्लेख छ ।
तर, निर्वाचनमा उम्मेदवार बन्ने कसैलाई केन्द्रीय समितिको सदस्य स्वतः मान्ने वा बैठकमा सहभागी हुन पाउने व्यवस्था राप्रपाको विधानमा कतै पनि व्यवस्था गरिएको छैन ।
त्यसैले विधान उल्लंघनको सबै सीमा नाघेको अवस्थामा पार्टीका अभिभावक मानिने पूर्वअध्यक्षहरुले समेत पार्टी नेतृत्वप्रति सार्वजनिक रुपमै असहमति दर्ज गरेका छन् ।
पार्टी विधानको चरम उल्लंघन भएको अवस्थामा केन्द्रीय अनुशासन समितिका संयोजक रोशन कार्की र सदस्य सचिव गोपाल दाहालले पार्टी विधानको गरिमा सुरक्षा गर्न अध्यक्ष लिङदेन माथि अनुशासनको कारबाही चलाउने आँट र नैतिक जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन् रु भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
विगत दिनमा राप्रपालाई भोट गर्दै आएका रमेश आचार्य पछिल्ला घटनाक्रमबाट आजित छन् । आफूलाई सादगी भन्दै मार्केटीङ गर्ने र जतिखेर पनि कसम खान पछि नपर्ने लिङदेनको विरोधाभाषपूर्ण कार्यशैलीका कारण उनी दुःखित छन् । ‘राप्रपा सच्चिने कि सक्किने भन्ने दुईवटा संभावना थिए, अब सक्किने नै भयो भन्ने स्पष्ट भएको छ । यसबाहेक अरु के भनुँ,’ आचार्य भन्छन् ।
