`

१४ बुँदे अन्यौलमा : इरानले गर्‍यो होर्मुज बन्द गर्ने घोषणा

Nepal One HD ७ असार २०८३ १०:४५
बिशेष

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच हालै सम्पन्न युद्धविराम तथा १४ बुँदे समझदारीपत्र (एमओयू) पछि मध्यपूर्वमा शान्तिको आशा बढेका बेला फेरि नयाँ तनाव उत्पन्न भएको छ।

इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजार र कूटनीतिक वृत्तमा चिन्ता बढेको हो।

इरानको शीर्ष सैन्य समन्वय निकाय ‘खातम अल-अम्बिया केन्द्रीय मुख्यालय’ले अमेरिका र इजरायलले युद्धविराम सम्झौताका सर्त उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज स्ट्रेटमा जहाज आवतजावत रोक्ने घोषणा गरेको हो। इरानी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय ‘सम्झौता उल्लंघनप्रतिको पहिलो प्रतिक्रिया’ भएको र आवश्यक परे थप कदम चालिने चेतावनी समेत दिइएको छ। 

इरानले विशेषगरी दक्षिणी लेबनानमा इजरायलद्वारा जारी सैन्य कारबाहीलाई युद्धविराम सम्झौताको प्रत्यक्ष उल्लंघन भनेको छ। तेहरानको दाबी अनुसार अमेरिका सम्झौताको ग्यारेन्टर भए पनि इजरायललाई रोक्न असफल भएको छ। यही कारण आफूहरू बाध्य भएर होर्मुज स्ट्रेट बन्द गर्ने निर्णयमा पुगेको इरानी पक्षको भनाइ छ। 

यसैबीच, इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पनि होर्मुज स्ट्रेट भएर हुने सबै जहाज आवागमनमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। आईआरजीसीले अमेरिका र इजरायललाई ‘युद्धविराम सम्झौताको उल्लंघनकर्ता’ भन्दै चेतावनीपूर्ण भाषा प्रयोग गरेको छ।

तर इरानको दाबीलाई अमेरिकी पक्षले अस्वीकार गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला रहेको दाबी गर्दै इरानले मार्ग बन्द गरेको कुनै ठोस प्रमाण आफूहरूले नपाएको बताएका छन्। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले समेत व्यापारी जहाजहरूको आवागमन जारी रहेको जनाएको छ। एकै दिन ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गर्दै १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल ढुवानी गरेको अमेरिकी दाबी छ। 

यही कारण अहिले वास्तविक अवस्था केही अन्योलपूर्ण बनेको छ। एकातिर इरानले स्ट्रेट बन्द भएको घोषणा गरिरहेको छ भने अर्कोतिर अमेरिका र पश्चिमी स्रोतहरूले जहाज आवागमन जारी रहेको दाबी गरिरहेका छन्। हालसम्म इरानले मार्ग पूर्ण रूपमा अवरुद्ध गर्न सैन्य गतिविधि बढाएको स्पष्ट प्रमाण सार्वजनिक भएको छैन। 

किन महत्वपूर्ण छ होर्मुज स्ट्रेट ?

होर्मुज स्ट्रेट विश्व ऊर्जा सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील समुद्री मार्ग हो। पर्सियन खाडीलाई अरब सागर र हिन्द महासागरसँग जोड्ने यो जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल तथा ठूलो मात्रामा प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, इराक र इरानबाट निर्यात हुने अधिकांश ऊर्जा यही मार्ग हुँदै विश्व बजारमा पुग्छ। 

त्यसैले होर्मुज स्ट्रेटमा कुनै पनि अवरोध सिर्जना हुँदा विश्वव्यापी ऊर्जा बजारमा तत्काल प्रभाव पर्ने गर्छ। तेलको मूल्य बढ्ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा दबाब बढ्ने जोखिम रहन्छ।

केही दिनअघि मात्र अमेरिका र इरानबीच युद्ध अन्त्य तथा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुसार समुद्री मार्ग खुला राख्ने, आर्थिक प्रतिबन्धहरूमा सहजीकरण गर्ने तथा थप वार्तालाई निरन्तरता दिने सहमति भएको बताइएको थियो।

तर लेबनानमा जारी सैन्य गतिविधि, इजरायल-हिज्बुल्लाह तनाव तथा सम्झौताको व्याख्यामा देखिएको मतभेदले उक्त सहमति कार्यान्वयनमै चुनौती थपेको छ। स्विट्जरल्यान्डमा हुने भनिएको नयाँ चरणको अमेरिका–इरान वार्ता पनि अनिश्चित बनेको छ। 

विश्लेषकहरूका अनुसार होर्मुज स्ट्रेटबारे इरान र अमेरिकाबीच देखिएको विरोधाभासी दाबीले मध्यपूर्वको अवस्था अझ जटिल बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *