ब्रेक फेल भएर बस नालीमा पल्टिँदा २४ जना घाइते
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान ७ः१० बजे महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको बाँया किनाराको नालीतर्फ पल्टिएको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।
दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ। एक जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा रेफर गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
