`

ट्रम्प-मेलोनीबीच आरोप-प्रत्यारोप

Nepal One HD ७ असार २०८३ १५:०९
विश्व

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको सार्वजनिक जुहारीले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय राजनीतिक चर्चा तातेको छ।

जी-७ सम्मेलनका क्रममा सुरु भएको भनिएको विवाद अहिले व्यक्तिगत टिप्पणी र कूटनीतिक असन्तुष्टिसम्म पुगेको छ।

विवादको मूल कारण जी–७ सम्मेलनमा खिचिएको फोटो र त्यससँग जोडिएको व्याख्या हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै मेलोनीले आफूसँग फोटो खिच्न ‘बारम्बार आग्रह गरेको’ दाबी गरे। साथै उनले इटालीमा मेलोनीको लोकप्रियता कमजोर रहेको टिप्पणी पनि गरेका थिए।

ट्रम्पले लेखेका थिए, ‘उहाँले मसँग फोटो खिच्न बारम्बार बिन्ती गर्नुभयो। इटालीमा उहाँको लोकप्रियता खराब छ। अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरिसकेपछि उहाँ फेरि साथी बन्न चाहनुहुन्छ ताकि आफ्नो नम्बर बढोस्।’

उनले इटालीले केही सैन्य सहकार्यका क्रममा अमेरिकी प्रयोगका लागि अड्डा र रनवे उपलब्ध नगराएको विषयलाई पनि असन्तुष्टिको रूपमा उठाएका थिए। ट्रम्पका अनुसार यसले सैन्य रणनीतिमा कठिनाइ सिर्जना गरेको थियो।

तर मेलोनीले ट्रम्पका आरोपलाई कडा रूपमा अस्वीकार गरेकी छन्। इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि अवस्थामा ‘बिन्ती’ नगरेको स्पष्ट पारेकी छन्।

उनले भनिन्, ‘इटाली र म कहिल्यै बिन्तीभाउ गर्दैनौं। तपाईंको साथी हुनु वा नहुनुले मेरो लोकप्रियतामा कुनै असर गर्दैन। मेरो लोकप्रियता इटालीको हित रक्षा गर्ने क्षमतासँग जोडिएको हो।’

मेलोनीले ट्रम्पलाई आफ्नो राजनीतिक लोकप्रियता र व्यक्तिगत सम्बन्धलाई अलग राख्न पनि सुझाव दिएकी छन्। ‘मेरो लोकप्रियता तपाईंको चासोको विषय होइन,’ उनको भनाइ थियो।

उनले अमेरिकी सैन्य अड्डा प्रयोगसम्बन्धी टिप्पणीको पनि खण्डन गर्दै सबै गतिविधि विद्यमान अन्तर्राष्ट्रिय सम्झौताअनुसार नै हुने बताएकी छन्।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेलोनीको घरेलु समर्थन पछिल्ला सर्वेक्षणमा २८ प्रतिशत आसपास पुगेको छ भने ट्रम्पको अनुमोदन दर ३६ प्रतिशत रहेको उल्लेख गरिएको छ।

विश्लेषकहरूका अनुसार यो विवाद केवल व्यक्तिगत आरोप-प्रत्यारोप मात्र नभई पश्चिमी शक्तिहरूबीचको कूटनीतिक असहजताको संकेत पनि हो, जसले आगामी दिनमा राजनीतिक सम्बन्धमा थप असर पार्न सक्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *