`

नेपालमै पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल हुने

Nepal One HD ८ असार २०८३ ११:४३
मनोरञ्जन

काठमाडौं । नेपाली एनिमेसन र भिएफएक्स क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपालमै पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल आयोजना हुने भएको छ।

नेपाल एनिमेसन तथा भिएफएक्स कलाकार संघले यसलाई सिर्जनात्मक उद्योग विस्तारको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको हो।

आगामी अक्टोबरमा आयोजना हुने यो फेस्टिभल ‘मैले देखेको नेपाल’ भन्ने मूल विषय (थिम) मा केन्द्रित रहनेछ। आयोजकका अनुसार नेपालभित्र र बाहिर रहेका कलाकारहरूले आफ्नो दृष्टिकोण, संस्कृति र कल्पनाशीलतालाई एनिमेसनमार्फत प्रस्तुत गर्ने अवसर पाउनेछन्।

फेस्टिभल सार्वजनिक गर्दै आयोजकले यसको आधिकारिक मस्कट ‘आफ्फे’ पनि सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय चरा डाँफेबाट प्रेरित यो मस्कटलाई कलाकार अरनिकोको ऐतिहासिक कलाशैलीसँग जोडेर डिजाइन गरिएको बताइएको छ। यसले परम्परा र आधुनिक डिजिटल कलाको मिश्रणलाई संकेत गर्ने आयोजकको दाबी छ।

कार्यक्रममा एनिमेटेड सर्ट फिल्म, कन्सेप्ट आर्ट प्रतियोगिता र भिएफएक्स आधारित विभिन्न प्रतिस्पर्धा समावेश गरिनेछ। विशेषगरी २ देखि १० मिनेटसम्मका छोटा एनिमेसन फिल्महरूलाई प्रतिस्पर्धामा समावेश गरिने र यसमा नेपालसहित विश्वभरका सर्जकहरू सहभागी हुन सक्ने बताइएको छ।

आयोजकले यस फेस्टिभललाई केवल प्रदर्शनको प्लेटफर्म मात्र नभई रोजगारी र उद्योग विकाससँग जोड्ने उद्देश्य पनि राखेको छ। त्यसैअनुसार ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याइने घोषणा गरिएको छ, जसले एनिमेसन क्षेत्रका कलाकार र रोजगारदातालाई जोड्नेछ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका फिल्म र गेम स्टुडियोमा कार्यरत १२ जना नेपाली कलाकारहरूको भिडियो प्रस्तुति पनि देखाइएको थियो। यसले नेपाली एनिमेसन प्रतिभा विश्व बजारमा क्रमशः स्थापित हुँदै गएको संकेत गरेको आयोजकको भनाइ छ।

विशेषज्ञहरूका अनुसार यस्तो पहलले नेपालमा डिजिटल क्रिएटिभ इन्डस्ट्री, विशेषगरी एनिमेसन र भिएफएक्स क्षेत्रको सम्भावनालाई विस्तार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *