पक्राउ पर्ने समाचारपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मा मिडियासँग किन बिच्किए ?
काठमाडाैं । एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सम्पत्ति छानबिनकाे दायरामा आउने चर्चाबीच शर्माले ‘मिडिया ट्रायल’ गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सरोकार नै नभएको विषयमा आफ्नो नाम मुछेर भ्रम फैलाउन खोजिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा भने, ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’
एमाले उपाध्यक्ष पाैडेल पक्राउ परेपछि विभिन्न अनलाइनमा शर्मा पनि पक्राउ पर्न सक्ने भन्दै समाचार प्रकाशन भएका थिए ।
यस्ताेमा शर्माले आफूले विगतदेखि नै राजनीतिक नेतृत्व र उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग संसद् र पार्टीभित्रै उठाउँदै आएकाले अनुसन्धानबाट आफू पछि नहट्ने तर नियोजित रूपमा गरिने चरित्रहत्या स्वीकार्य नहुने संकेत गरेका छन् ।
