जङकुकको घरमा पटक-पटक पुगेर दुःख दिने महिलालाई जेल सजाय
एजेन्सी। दक्षिण कोरियाली लोकप्रिय के-पप समूह बीटीएसका सदस्य जङकुकको निजी निवासमा बारम्बार पुगेर दुःख दिएको आरोपमा एक ब्राजिलियन महिलालाई अदालतले निलम्बित जेल सजाय सुनाएको छ।
सियोलस्थित जिल्ला अदालतले ती महिलालाई एक वर्षको जेल सजाय तोकेको भए पनि उक्त सजाय दुई वर्षका लागि निलम्बन गरिएको जनाएको छ। अदालतको निर्णयविरुद्ध पुनरावेदन नगरेको अवस्थामा उनलाई दक्षिण कोरियाबाट देश निकाला गरिने सम्भावना रहेको बताइएको छ।
अदालती विवरणअनुसार महिलाले गत वर्षको डिसेम्बरदेखि जङकुकलाई पछ्याउन थालेकी थिइन्। उनले गायकप्रति आकर्षण रहेको भन्दै उनको घरमा चिठी र तस्बिर पुर्याउने प्रयास गरेकी थिइन्। यही क्रममा उनी पटक–पटक जङकुकको निवास क्षेत्र पुग्ने गरेकी थिइन्।
अदालतले सार्वजनिक गरेको विवरणअनुसार उनी पहिलो पटक डिसेम्बर ७ मा जङकुकको घर पुगेकी थिइन्। त्यसबेला उनले घर वरपर घुमफिर गर्ने, पर्खाल नाघेर भित्र सामान फाल्ने तथा ढोकाको साँघुरो भागबाट चिठी छिराउने प्रयास गरेकी थिइन्। केही दिनपछि पुनः त्यही स्थानमा पुगेकी उनले घरको घण्टी १३३ पटकसम्म बजाएकी थिइन्।
न्यायाधीशले यस्तो व्यवहारलाई अत्यधिक आशक्ति देखाउने गतिविधिका रूपमा व्याख्या गरेका छन्।
त्यसपछि डिसेम्बर १३ मा उनी खाना वितरण गर्ने व्यक्तिको पछि लाग्दै घरको साइड गेटबाट भित्र प्रवेश गर्न खोज्दा पक्राउ परेकी थिइन्। पक्राउपछि उनलाई सो क्षेत्रमा नफर्किन चेतावनीसहित रिहा गरिएको भए पनि उनले आदेशको पालना नगरेको अदालतले जनाएको छ।
महिलाको गतिविधि नरोकिएपछि प्रहरीले जङकुकको घर वरपर १०० मिटर क्षेत्रभित्र प्रवेश गर्न नपाउने आपत्कालीन आदेश जारी गरेको थियो। तर त्यसलाई समेत बेवास्ता गरेपछि फेब्रुअरी महिनामा अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाइएको थियो।
अदालतका अनुसार ती महिला कुल २२ पटक जङकुकको निवासमा पुगेकी थिइन्। यद्यपि भविष्यमा यस्ता गतिविधि दोहोरिने सम्भावना धेरै नरहेको लगायतका पक्षलाई ध्यानमा राख्दै अदालतले निलम्बित सजायको फैसला सुनाएको जनाएको छ।
यसअघि पनि जङकुकसँग सम्बन्धित यस्तै घटना सार्वजनिक भएको थियो।
गत वर्ष सैन्य सेवा पूरा गरी घर फर्किएपछि उनको निवासमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा एक चिनियाँ महिला पक्राउ परेकी थिइन्।
