`

कांग्रेसबाट जित्ने रास्वपामा छिर्ने ३ जनप्रतिनिधि पदमुक्त

Nepal One HD ९ असार २०८३ १२:२१
नेपाली कांग्रेस

काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा प्रवेश गरेका तीन जना जनप्रतिनिधि पदमुक्त भएका छन्।

निर्वाचन आयोगले औपचारिक सूचना जारी गर्दै उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो।

पदमुक्त हुने जनप्रतिनिधिहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।

उनीहरू सबैले पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पुष्टि भएपछि राजनीतिक दलसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार पद रिक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिसका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको हो। सोही आधारमा उनीहरूको निर्वाचित पद स्वतः समाप्त भएको निर्णय गरिएको सूचनामा उल्लेख छ।

नेपाली कांग्रेसले आफ्ना तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल परिवर्तन गरेको भन्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा औपचारिक पत्राचार गरेको थियो। त्यसपछि आयोगले सम्बन्धित कानुनअनुसार निर्णय प्रक्रिया अघि बढाएको हो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै जनप्रतिनिधि निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उनीहरूको पद स्वतः रिक्त हुने व्यवस्था छ।

सोही प्रावधान लागू गर्दै आयोगले तीनै जना जनप्रतिनिधिको पद समाप्त भएको स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *