रास्वपा महाधिवेशन : मतदान सुरू हुन अझै तीन घण्टा लाग्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य चयनका लागि अबको करिब दुईदेखि तीन घण्टाभित्र मतदान सुरु हुने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम विवरण तयार गर्ने काम गरिरहेको जानकारी दिँदै मतदानको तयारी अन्तिम चरणमा पुगेको बताए।
उनका अनुसार उम्मेदवारीमाथि परेका दाबी-विरोधमाथि छानबिन भइरहेको छ भने उम्मेदवारहरूको फोटोसहितको नामावली प्रणालीमा प्रविष्ट गर्ने काम जारी छ। त्यस प्रक्रिया पूरा भएपछि मतदान सुरु गरिनेछ।
बुर्लाकोटीले ९९ जना केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने जानकारी पनि दिए।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको निश्चित समय औपचारिक रूपमा घोषणा नगरे पनि निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार आज नै इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गराइनेछ।
महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले ईभीएम प्रयोग गरेर मतदान गर्नेछन् भने विदेशमा रहेका प्रतिनिधिहरूका लागि मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। यसलाई रास्वपाले प्रविधिमैत्री निर्वाचन अभ्यासका रूपमा प्रस्तुत गरेको छ।
निर्वाचनका लागि ८० वटा ईभीएम मेसिन तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ। करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ।
९९ जना केन्द्रीय सदस्य चयनका लागि ४०० भन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको संख्या अत्यधिक भएपछि अन्तिम नामावली तयारीमा समय लागेको बताइएको छ।
चितवनमा जारी महाधिवेशनमा सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य चयनसँगै पार्टीको नयाँ नेतृत्व संरचना निर्माणको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। त्यसपछि उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।
महाधिवेशनस्थलमा उम्मेदवारहरू अन्तिम समयसम्म प्रतिनिधिसँग मत माग्न व्यस्त छन् भने मतदान सुरु हुने प्रतीक्षामा प्रतिनिधिहरू हलभित्र र बाहिर समूह-समूहमा छलफल गरिरहेका छन्।
रास्वपाको पहिलो महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको निर्वाचन प्रक्रियाप्रति कार्यकर्ता र नेताहरूको चासो उच्च रहेको छ।
भिडियो:
