अतिथिलाई आतंककारी भनेपछि खगेन्द्रसँग रिसाए रवि
काठमाडौं। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा अतिथि व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको छ।
कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिहरूप्रति उचित सम्मान नदेखाइएको भन्दै पार्टी सभापति रवि लामिछाने आक्रोशित भएका हुन्।
कार्यक्रममा आमन्त्रित केही अतिथिहरूले अपेक्षित सम्मान र व्यवस्थापन नपाएको गुनासो गरेपछि लामिछानेले यस विषयमा चासो व्यक्त गरेको स्रोतले जनाएको छ।
उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सम्बन्धित पक्षसँग स्पष्टीकरणसमेत मागेको बताइएको छ।
‘सभापति ज्यूले सुनारसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । र सुनारले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। स्पष्टीकरण मागिएको छ।’ स्रोतले भन्यो।
महाधिवेशनको व्यवस्थापनमा संलग्न रहेका सुनारसँग यस विषयमा लामिछानेको असन्तुष्टि देखिएको बताइए पनि पार्टीले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन।
महाधिवेशनको व्यस्त कार्यक्रमबीच उत्पन्न भएको यो विवादले केही समय चर्चा पाए पनि पार्टी नेतृत्वले यसलाई आन्तरिक रूपमा समाधान गर्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ।
