`

लभ! लभ! लभ! भन्दै पेलेको भावुक बिदाइ

Nepal One HD १२ असार २०८३ १४:०५
खेलकुद

सन् १९७७ अक्टोबर १ अमेरिकाको जायन्ट्स स्टेडियमम।  विश्व फुटबलका महान खेलाडीमध्ये एक पेले व्यावसायिक फुटबलबाट बिदा हुँदै थिए। र उनको सम्मानमा आयोजित विशेष खेल हेर्न हजारौँ दर्शक, खेलकुदका हस्ती र विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि भेला भएका थिए।

तर त्यस दिनको सबैभन्दा अविस्मरणीय क्षण खेलको नतिजा वा गोल थिएन। खेल समाप्त हुनुअघि मैदानमा देखिएको एउटा भावुक दृश्यले उक्त दिनलाई खेल इतिहासकै सबैभन्दा ऐतिहासिक दिन बनायो।

साँच्चै त्यो दिन पेलेकै दिन थियो, र सबैले उनलाई उचित सम्मान दिएका थिए। जब कूटनीतिज्ञहरू र खेलकुदका चर्चित व्यक्तित्वहरूको परिचय गराइयो, उनीहरू पनि  पेलेप्रतिको सम्मानस्वरूप मौन रहे। सधैं बोलिरहने मुहम्मद अलीसमेत त्यस दिन निःशब्द थिए।

जब पेलेलाई उपहार र सम्मान अर्पण गर्ने समय आयो, उनीहरूले सकेसम्म छोटकरीमा आफ्ना भनाइ राखे र त्यसपछि मञ्चको माइक्रोफोन पेलेका लागि छाडिदिए। त्यसपछि स्टेडियमभरि कुहिरोजस्तै मौनता छायो।

‘महिला तथा सज्जनवृन्द,’ पेलेले भने, आफ्ना काँपिरहेका शब्दलाई थाम्न खोजेजस्तै गरी हात टाउको पछाडि राख्दै। ‘मेरो जीवनको यो सबैभन्दा महान् क्षणमा तपाईंहरूसँग यहाँ उपस्थित हुन पाउँदा म अत्यन्त खुसी छु। म तपाईंहरू प्रत्येकलाई धन्यवाद दिन चाहन्छु। यो अवसरमा म संसारभरिका युवाहरू, बालबालिकाप्रति ध्यान दिन आग्रह गर्न चाहन्छु। हामीलाई उनीहरूको अत्यन्त आवश्यकता छ। र म तपाईंहरूलाई भन्न चाहन्छु, किनभने म विश्वास गर्छु, म मान्छु कि प्रेम नै… प्रेम नै… प्रेम नै…।’

उनका आँखामा आँसु भरिए र त्यसलाई रोकिराख्न उनी असमर्थ भए। आफूलाई सम्हाल्ने प्रयास गर्दै उनले काँपिरहेको स्वरमा कुरा अगाडि बढाए।

‘प्रेम जीवनमा हामीले प्राप्त गर्न सक्ने कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। सबै कुरा बितेर जान्छ। कृपया मसँग तीनपटक भन्नुहोस् प्रेम! प्रेम! प्रेम!’

स्कोरबोर्डमा ‘लभ’ शब्द चम्किँदा पेलेले हजारौँ दर्शकलाई आफ्नो सन्देश दोहोर्याएको सुने। तीनपटक, ‘प्रेम! प्रेम! प्रेम!’ त्यो क्षण उनका लागि अत्यन्त भावुक बन्यो। आँसुका कारण स्वर हराउनुअघि उनले केवल एउटा वाक्य मात्र भन्न सके।

‘धेरै धेरै धन्यवाद।’

त्यसपछि ७५ हजार ६४६ दर्शकको सामुन्ने उनले आफ्ना हातले अनुहार छोपे र आफ्ना कोसमसका सहकर्मी तथा देशबन्धु कार्लोस अल्बेर्टोको साथमा सान्त्वना पाए। त्यसपछि उनकी पत्नी र बुवा पनि मैदानमा आए। पेलेले उनीहरूलाई अँगालो हाले, उनीहरूले उनलाई कस्सिएर समाते र उनीसँगै भावुक बने।

त्यो दिन पेलेले प्रतिस्पर्धात्मक व्यावसायिक फुटबल खेलाडीका रूपमा आफ्नो करिअरको अन्त्य गरेका थिए। कोसमस क्लबको मालिक वार्नर कम्युनिकेसन्सले पेलेको सम्मानमा विशेष प्रदर्शनी खेल आयोजना गरेको थियो। जसमा उनको पुरानो ब्राजिली क्लब सान्तोस प्रतिद्वन्द्वी थियो। पेलेले पहिलो हाफ कोसमसका लागि र दोस्रो हाफ सान्तोसका लागि खेले।

खेल २-१ को अन्तरले कोसमसले जित्यो। खेलको सबैभन्दा महत्त्वपूर्ण क्षण पहिलो हाफ सकिन २ मिनेट ३४ सेकेन्ड बाँकी रहँदा आयो। त्यसअघि कोसमसका लागि कुनै प्रहार नगरेका पेलेले करिब ३० यार्ड टाढाबाट फ्रि-किक पाए। उनले बललाई तीव्र र शक्तिशाली रूपमा प्रहार गरे।

गोलीझैँ अघि बढेको बल सिधै सान्तोसको गोलपोस्टको बायाँ कुनामा छिर्यो। गोलरक्षक हतारिँदै लडेका थिए। तर बल जालभित्र पुगिसकेको थियो। यो पेलेको करिअरको १ हजार २ सय ८१औँ गोल थियो, जसले खेललाई १-१ को बराबरीमा ल्यायो।

दोस्रो हाफमा उनले पाँच पटक प्रहार गरे, जसमध्ये दुईलाई गोलरक्षकले बचाए। सान्तोसका खेलाडीहरूले दर्शकले चाहेजस्तो अर्को गोलको अवसर दिलाउन धेरै प्रयास गरे, तर सफल हुन सकेनन्। तथापि, पेलेले एक गोल मात्र गरेकाले त्यो दिनको उत्साह र गौरवमा कुनै कमी आएन।

खेलपछि पेलेले भने, ‘आज म अलिकति मरेजस्तो महसुस गरिरहेको छु। तर अब म नयाँ जीवनमा पुन:र्जन्मिएको छु। हेर्नुहोस्, मैले फुटबल खेल्न छाडेको हुँ किनकि म आफैँले त्यसो गर्न चाहेको थिएँ, र त्यो महत्त्वपूर्ण कुरा हो।’

पेलेको सम्मानमा वार्नरले कुनै खर्च बाँकी राखेन। मुहम्मद अली, मिक जागर, हेनरी किसिन्जर र क्लडेट कोलबर्टजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरू उपस्थित थिए। पछिल्ला पाँच विश्वकप विजेता टोलीका कप्तानहरू पनि त्यहाँ थिए। अमेरिकी राष्ट्रपति जिमी कार्टरका छोरा जेफ कार्टरले पेलेलाई स्मृतिचिन्ह प्रदान गरेका थिए।

तर ती सबैभन्दा बढी पेलेलाई छोएका व्यक्ति भने बालबालिका थिए। महानगरीय क्षेत्रका विभिन्न फुटबल क्लबका बालबालिकाहरूले उनको सम्मानमा प्रदर्शन गरे। केहीले उनलाई फूलसमेत दिए। पेलेले उनीहरूको उपहार ग्रहण गर्दै प्रत्येक बालकलाई माया गरेर चुम्बन गरे।

त्यो दिन प्रेमको उत्सव थियो, र पेले त्यसका अगुवा बनेका थिए।

[अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *