`

भेनेजुएला भूकम्प : मृत्यु संख्या ३२ पुग्यो, ७०० भन्दा बढी घाइते

Nepal One HD ११ असार २०८३ १२:४३
बिशेष

काठमाडौं। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पहिलोपटक आधिकारिक विवरण सार्वजनिक गर्दै भूकम्पका कारण ७०० भन्दा बढी व्यक्ति घाइते भएको पुष्टि गरेकी हुन्।

स्थानीय समयअनुसार बुधबार केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो। भूकम्पले दर्जनौँ भवन भत्किएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक मूल्याङ्कनमा यस भूकम्पबाट अत्यधिक मानवीय क्षति हुन सक्ने चेतावनी दिएको छ। यूएसजीएसको ‘पेजर’ प्रणालीअनुसार अन्तिम मृतक संख्या १० हजारदेखि एक लाखभन्दा माथिसम्म पुग्न सक्ने उच्च जोखिम रहेको अनुमान गरिएको छ। यद्यपि यो प्रारम्भिक प्रक्षेपण मात्र भएकाले वास्तविक क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने जनाइएको छ।

राजधानी काराकासमा उद्धार तथा खोजी अभियान तीव्र बनाइएको छ। भत्किएका भवनका भग्नावशेष हटाउने कार्य रातदिन जारी रहेको छ। उद्धारकर्मीहरूका अनुसार धेरै स्थानमा भग्नावशेषभित्र फसेका मानिसहरूको आवाज सुनिएकाले जीवित उद्धारको सम्भावना अझै रहेको छ।

भूकम्पका कारण राजधानीका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। भूमिगत रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने सञ्चार तथा यातायात प्रणालीमा समेत व्यापक असर परेको छ। अस्पतालहरूमा घाइतेहरूको चाप बढेपछि आपतकालीन स्वास्थ्य सेवा उच्च सतर्कतामा राखिएको छ।

बुधबार राष्ट्रिय बिदा परेकाले धेरै नागरिक घरमै रहेका बेला भूकम्प गएको थियो। यही कारण मानवीय क्षति अझ बढेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस भएको थियो। विशेषगरी कोलम्बियाको राजधानी बोगोटालगायत विभिन्न क्षेत्रमा मानिसहरू घर र कार्यालयबाट बाहिर निस्किएका थिए।

सरकारले देशभर आपतकालीन अवस्था लागू गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ। विभिन्न देश तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउन थालेका छन्।

अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

भूकम्पपछिका पराकम्पहरू निरन्तर महसुस भइरहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *