हर्मुजमा फसेका ११ हजार नाविकको उद्धार कहिले?
एजेन्सी। अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले हर्मुज जलडमरूमध्य र आसपासका क्षेत्रमा फसेका जहाज तथा चालकदल सदस्यहरूको सुरक्षित निकासीका लागि विशेष योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
संगठनका महासचिव आर्सेनियो डोमिंगेजले आगामी केही साताभित्र अधिकांश जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिने विश्वास व्यक्त गरेका छन्।
हालैको क्षेत्रीय तनाव र समुद्री सुरक्षासम्बन्धी चुनौतीका कारण पर्सियन खाडी र होर्मुज क्षेत्रका समुद्री मार्ग प्रभावित बनेपछि सयौं जहाजहरू लामो समयदेखि रोकिएका छन्। त्यसको प्रत्यक्ष असर हजारौं नाविक र चालकदल सदस्यमाथि परेको छ।
आईएमओले मंगलबार सार्वजनिक गरेको योजनाअनुसार क्षेत्रीय राष्ट्रहरू, समुद्री उद्योग र सम्बन्धित निकायहरूसँगको समन्वयमा करिब ६०० जहाजमा रहेका ११ हजारभन्दा बढी चालकदल सदस्यको सुरक्षित निकासी गरिनेछ। महासचिव डोमिंगेजका अनुसार निकासी प्रक्रियालाई तीव्र बनाउन दैनिक रूपमा काम भइरहेको छ र अधिकांश जहाजलाई चरणबद्ध रूपमा सुरक्षित मार्ग उपलब्ध गराइँदैछ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिने होर्मुज जलडमरूमध्य पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो। विश्वव्यापी तेल तथा ऊर्जा व्यापारको ठूलो हिस्सा यही मार्गबाट हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृंखलामा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
हालको संकटका कारण २० हजारभन्दा बढी चालकदल सदस्य विभिन्न जहाजमा फसेको अनुमान गरिएको छ। पछिल्ला महिनाहरूमा व्यापारिक जहाजमाथि भएका आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भइसकेको छ।
आईएमओका अनुसार निकासी कार्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अत्यन्त सावधानीका साथ सञ्चालन भइरहेको छ। जहाजहरूलाई उनीहरूको अवस्था, फसेको अवधि र स्थानका आधारमा समूहमा विभाजन गरिएको छ। त्यसपछि निर्धारित प्रतीक्षा क्षेत्रमार्फत सुरक्षित मार्ग प्रयोग गर्न अनुमति दिइँदैछ।
वैकल्पिक समुद्री मार्गका रूपमा इरान र ओमानको नियन्त्रणमा रहेका जलक्षेत्र प्रयोग गरिँदैछ। आईएमओ र ओमानले संयुक्त रूपमा जारी गरेको निर्देशनअनुसार जहाजहरूलाई सुरक्षित मार्ग पहिचान गरी चरणबद्ध रूपमा अगाडि बढाइँदैछ।
डोमिंगेजले यस अभियान सफल बनाउन इरान, ओमान, अमेरिका, बेलायत र फ्रान्ससहितका विभिन्न देशसँग निरन्तर समन्वय गरिएको बताए। उनका अनुसार सुरक्षित आवागमनका लागि आवश्यक सुरक्षा प्रत्याभूति प्राप्त भइसकेको छ।
उनले अमेरिका र इरानबीच जारी कूटनीतिक संवादलाई सकारात्मक रूपमा उल्लेख गर्दै त्यसले क्षेत्रीय तनाव कम गर्न र अन्तर्राष्ट्रिय समुद्री यातायात पुनः सामान्य बनाउन सहयोग पुर्याइरहेको बताए।
महासचिव डोमिंगेजले पछिल्लो संकटले भूराजनीतिक द्वन्द्वको प्रत्यक्ष असर सर्वसाधारण चालकदल सदस्यहरूले भोग्नुपरेको तथ्य पुनः उजागर गरेको बताए। उनका अनुसार महिनौँदेखि जहाजमै सीमित जीवन बिताइरहेका हजारौं नाविक मानसिक, शारीरिक र व्यावसायिक दबाबमा रहेका छन्।
उनले रातो सागर, कालो सागर हुँदै अहिले होर्मुजसम्म फैलिएको अस्थिरताले अन्तर्राष्ट्रिय समुद्री क्षेत्रलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै कुनै पनि भूराजनीतिक विवादमा निर्दोष चालकदल सदस्य र व्यापारिक जहाजहरूलाई बन्धक बनाउनु नहुने धारणा व्यक्त गरे।
आईएमओले समुद्री सुरक्षालाई विश्वव्यापी प्राथमिकताको विषय बनाउँदै चालकदल सदस्यहरूको सुरक्षा, संरक्षण र मानवअधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ।
