`

स्याङ्जामा जीप दुर्घटना : एक जनाको मृत्यु, २० घाइते

Nepal One HD १२ असार २०८३ १५:४५
समाचार

स्याङ्जा। स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

वालिङ नगरपालिका–७, लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडकखण्डमा वालिङतर्फ आइरहेको बा एए ७९०५ नम्बरको डबल क्याब बोलेरो जीप आज बिहान अनियन्त्रित भई पल्टिँदा स्थानीय २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको हो।

दुर्घटनामा २० जना घाइते भएका छन्। घाइते हुनेमा वालिङ–७ का ४६ वर्षीया रुपकला सारु, ४५ वर्षीया जैकला सारु, ४९ वर्षीया गौमाया सारु, ५९ वर्षीय बेलबहादुर आले, ३० वर्षीय कुमार सारु, ३८ वर्षीया ज्ञानुमाया सारु र वडा नं. ६ का ३९ वर्षीय टोपबहादुर थापा रहेका छन्।

त्यस्तै रुपन्देहीकी ५५ वर्षीया सुमित्रा गुरुङ, ४० वर्षीया सावित्रा मगर, ५१ वर्षीया धनकुमारी उचाई, ५१ वर्षीया नन्दकुमारी राना, ७३ वर्षीया भिमकुमारी थापा, ४७ वर्षीया लालसुवा थापा, नवलपरासी पूर्वकी ४१ वर्षीया मायादेवी सुनारी, उनकी १२ वर्षीया छोरी कर्मिसा, गैडाकोटकी २६ वर्षीया आस्मा तामाङ सारु र उनकी २० महिने छोरी प्रिन्सा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये १७ जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई बुटवल पठाइएको छ। एक बालकको उपचार वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

दुर्घटनापछि जीप चालक वालिङ–७ का २८ वर्षीय मिनबहादुर सारुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *