`

युद्धविरामकै बीच अमेरिका-इरानको बम हानहान

Nepal One HD १३ असार २०८३ ११:३७
बिशेष

एजेन्सी। अमेरिका र इरानबीच युद्धविराम कायम गर्ने प्रयास भइरहेका बेला दुवै देशबीच फेरि सैन्य तनाव चर्किएको छ।

दक्षिणी इरानमा अमेरिकाले हवाई आक्रमण गरेपछि दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अमेरिकी लडाकु विमानले दक्षिणी इरानका विभिन्न सैन्य लक्ष्यमाथि हवाई आक्रमण गरेका हुन्। इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थललाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ। यो घटनाले दुई देशबीच जारी कूटनीतिक संवादमाथि समेत प्रश्न उठाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानले युद्धविरामको सर्त उल्लंघन गरेपछि जवाफी कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार हर्मुज जलमार्गमा एक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले सैन्य प्रतिक्रिया जनाएको हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौताको पालना नगरेको आरोप लगाएका छन्। उनका अनुसार अमेरिका कूटनीतिक वार्ताबाट समाधान खोज्न तयार रहे पनि इरानले हिंसात्मक गतिविधि जारी राखे त्यसको उचित जवाफ दिइनेछ।

उता इरानले पनि दक्षिणी बन्दरगाह सिरिक नजिक अमेरिकी आक्रमण भएको पुष्टि गरेको छ। इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणपछि हर्मुज क्षेत्रस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी सैन्य कारबाही गरिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा नियम उल्लंघन गर्ने गतिविधिविरुद्ध चेतावनीस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। आईआरजीसीले विज्ञप्ति जारी गर्दै अमेरिकाले पुनः आक्रमण गरे अझ कडा प्रत्याक्रमण गरिने चेतावनी दिएको छ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लंघनको परिणाम गम्भीर हुने चेतावनी दिँदै अमेरिका आफ्नो कदमप्रति पछुताउन बाध्य हुने दाबी गरेका छन्।

दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका कारण क्षेत्रीय तनाव फेरि बढ्ने संकेत देखिएको छ।

कूटनीतिक प्रयास जारी रहे पनि पछिल्ला सैन्य गतिविधिले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *