पौडेल पक्राउमा एमालेको आपत्ति, संसदबाट सरकारसँग तत्काल रिहाइको माग
काठमाडौं। नेकपा एमालेले आफ्ना उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले सम्पत्ति शुद्धीकरणको आरोपमा गरिएको पक्राउ कानुनी प्रक्रियाभन्दा पनि राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरे। उनले गत निर्वाचनका क्रममा गाडी उपलब्ध गराएको भनिएको व्यक्तिको आरोपलाई आधार बनाएर विपक्षी दलका नेतामाथि कारबाही गरिएको आरोप लगाए।
कँडेलले विशेषगरी एमालेलाई बदनाम गर्ने नियतका साथ पार्टी उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको दाबी गर्दै सरकारले प्रतिशोधको राजनीति गरिरहेको टिप्पणी गरे। उनले निष्पक्ष अनुसन्धानको नाममा राजनीतिक पूर्वाग्रह राखेर विपक्षीलाई दबाबमा पार्ने प्रयास स्वीकार्य नहुने बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरीले गत साता सुर्खेतबाट विष्णु पौडेललाई पक्राउ गरेको थियो। यस विषयमा एमालेले सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ।
सांसद कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उनले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।
एमालेले विपक्षी नेतामाथिको कारबाही र प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे सरकार स्पष्ट हुनुपर्ने भन्दै दुवै विषयमा संसद्मार्फत जवाफदेहिताको माग गरेको छ।
