वाम-एकतामा ढिलाइ गर्नु ऐतिहासिक गल्ती हुन्छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मुद्दामा वामपन्थी शक्तिहरूबीच सहकार्यलाई अब थप पछाडि धकेल्न नहुने बताएका छन्। उनले तत्काल पार्टी एकताको कुरा नभए पनि कार्यगत एकता र साझा पहलमा ढिलाइ गर्नु राजनीतिक रूपमा ठूलो भूल हुने धारणा राखे।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा बाह्य हस्तक्षेपविरुद्ध समान सोच भएका शक्तिहरू एकजुट हुनुपर्ने बताए।
‘हामी ढिलाइ नगरी भन्न चाहन्छौँ, राष्ट्रिय स्वाधीनताको पक्षमा, निरंकुशताविरुद्ध र वैदेशिक दबाब तथा हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ। यसमा ढिलाइ गर्नु गल्ती हुनेछ,’ उनले भने।
प्रचण्डले आफूले तत्काल पार्टी एकताको प्रस्ताव नराखेको स्पष्ट पार्दै सहकार्य सम्भव हुने विषयमा तत्कालै सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिए। विचार मिल्ने शक्तिहरूबीच सहकार्य हुन नसक्नु दुर्भाग्यपूर्ण हुने उनको भनाइ थियो।
‘केही साथीहरूले मैले आजै पार्टी एकता गरौँ भनेझैँ बुझ्नुभएको छ। मैले त्यो भनेको होइन। मेरो भनाइ यत्ति हो, सहकार्य आजै सम्भव छ भने आजै गरौँ, साँझ सम्भव छ भने साँझै गरौँ, भोलि सम्भव छ भने भोलि नै गरौँ। विचार मिल्नेहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो दुर्भाग्य हुन्छ,’ प्रचण्डले भने।
सम्बोधनका क्रममा उनले वर्तमान सरकारमाथि संविधानका आधारभूत मूल्य र व्यवस्थामाथि हस्तक्षेप गर्न खोजेको आरोप पनि लगाए। उनका अनुसार उत्पीडित समुदायका अधिकार कमजोर पार्ने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको छ।
‘सरकार संविधानका आधारभूत विषयमै प्रहार गर्नतर्फ उन्मुख देखिएको छ। उत्पीडित समुदायमाथि पनि आक्रमण गर्ने प्रवृत्ति देखिँदै गएको छ। यसको मूल लक्ष्य कम्युनिस्ट आन्दोलनलाई कसरी कमजोर बनाउने भन्ने देखिन्छ,’ उनले भने।
