‘हामी कहाँ चुक्यौँ?’ आत्ममन्थन गर्न माधव नेपालको आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनले अहिलेको अवस्थासम्म आइपुग्नुका कारणबारे इमानदारीपूर्वक आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। उनले विगतका कमजोरी स्वीकार गरेर मात्रै कम्युनिस्ट शक्तिहरूलाई पुनः सुदृढ बनाउन सकिने धारणा राखे।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले बदलिँदो जनचाहना बुझ्न नसक्नु, संगठनभित्र विकृति बढ्नु र आत्मकेन्द्रित सोच हाबी हुनुजस्ता विषयमाथि सबै वामपन्थी शक्तिले खुला समीक्षा गर्नुपर्ने बताए।
‘हामीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ कि? हामीभित्र कस्ता विकृति आए? यो एउटा पार्टीको मात्र होइन, सबै कम्युनिस्ट शक्तिले आत्ममन्थन गर्नुपर्ने विषय हो। यही समीक्षा गर्न सक्यौँ भने मात्रै फेरि एकताको आधार तयार हुन्छ,’ उनले भने।
नेपालले केवल भाषण र नाराले राजनीतिक उद्देश्य पूरा नहुने उल्लेख गर्दै व्यवहारमा सहकार्य र एकता आवश्यक रहेको बताए। उनले जननेता मदन भण्डारीको भनाइ स्मरण गर्दै अहिलेको अवस्थामा मिल्न सकिने विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
‘मदन भण्डारीले भन्नुहुन्थ्यो, “कुरा गरेर मात्रै चिउरा भिज्दैन।” त्यसैले अब भाषणभन्दा काम आवश्यक छ। मिल्न सक्ने विषयमा सहमति गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
उनले कम्युनिस्ट आन्दोलन किन कमजोर बन्दै गयो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको उल्लेख गर्दै विचार, नेतृत्व, व्यक्तिवाद र भ्रष्टाचारजस्ता विषयको निष्पक्ष समीक्षा अपरिहार्य रहेको बताए।
‘समाजवादी परिवर्तनको यात्रामा हामी कहाँ चुक्यौँ? यति ठूलो उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन किन कमजोर भयो? विचारमा समस्या आयो कि, व्यक्तिवाद बढ्यो? “मै हुँ” भन्ने प्रवृत्ति हाबी भयो कि, भ्रष्टाचारले असर गर्यो? यी सबै विषयमा खुलेर समीक्षा गर्नुपर्छ,’ उनले भने।
नेपालले मदन भण्डारीको राजनीतिक दृष्टि, संगठनात्मक अनुशासन र यथार्थमा आधारित नेतृत्व शैली अहिले पनि सान्दर्भिक रहेको बताए। उनले भण्डारीले चुनौतीबाट नभागी समाधान खोज्ने, वास्तविकताको धरातलमा उभिएर निर्णय गर्ने र पार्टी अनुशासनलाई सर्वोच्च प्राथमिकता दिने संस्कार स्थापित गरेको उल्लेख गर्दै त्यसबाट वर्तमान पुस्ताले सिक्नुपर्ने धारणा राखे।
‘उहाँ सधैँ दूरदर्शी सोचका साथ अघि बढ्नुहुन्थ्यो। समस्यालाई पहिचान गरेर समाधान खोज्ने, यथार्थलाई स्वीकार गर्ने र पार्टी अनुशासनलाई प्राथमिकतामा राख्ने उहाँको शैली आज पनि अनुकरणीय छ। जनताको बहुदलीय जनवादका धेरै पक्ष अहिले पनि मार्गदर्शक बन्न सक्छन्,’ नेपालले भने।
